काठमाडौं । म्याराथनमा नेपालको छुट्टै शान छ । दक्षिण एसियाली खेलकुदको सुरुवाती संस्करणमा बैकुण्ठ मानन्धनले स्वर्ण जितेर म्याराथनलाई अझ लोकप्रिय बनाए ।
उनले बनाएको २ घण्टा १५ दशमलव ०३ सेकेन्डको रेकर्ड दक्षिण एसियामा अझै कसैले तोड्न सकेको छैन ।
१३ औं साग नेपालमा चलिरहदाँ एथ्लेटिक्सले गज्जबको नतिजा आत्मसाथ गर्यो । बिशेषत लामो दुरीको दौडमा एथ्लेटिक्सले ऐतिहासिक सफलता हासिल गर्यो ।
एथ्लेटिक्सको १० हजार मिटरमा सन्तोषी श्रेष्ठ, ५ हजार मिटरमा गोपिचन्द्र पार्कीले सुरुमा सफलता दिलाएका थिए । अन्तिम दिन म्याराथनमा नेपालले अर्को सफलता निकाल्यो ।
विभागीय टिम एपीएफका किरण सिंह बोगटीले पुरुष म्याराथनमा नेपाललाई स्वर्ण जिताए ।
किरण ट्रायक एण्ड फिल्डमा खासै चिनिएका नाम हैनन् । एक हिसाबले उनी कहिल्यै प्रथम भएनन् । म्याराथनमा एक से एक खेलाडीका बीच उनी सधै छायाँमै रहे । गुमनाम रहे । र सधै निरन्तर साधानमा तल्लिन रहे । त्यही साधनाले उनलाई १३ औ दक्षिण एसियाली खेलकुदको म्याराथनमा स्वर्ण दिलाउने काम गर्यो ।
हुन त किरण भन्दा कृण्ण बस्नेत, होमलाल श्रेष्ठ म्याराथनमा बलिया खेलाडी मानिन्थे । तर शनिबारको दिन किरणका लागि लेखिएको हुनुपर्छ ।
उनले शनिबारको म्याराथनमा बाजी मारे । भारतीय खेलाडीलाई पछाडी पार्दै किरणले पुरुष म्याराथनको स्वर्ण जित्न सफल रहे ।
किरण एथ्लेटिक्समा मेहनती खेलाडी मानिन्छन् । घरेलु खेलकुदमा सफलता हात नपर्दा उनी सधै छायाँमा परे । दौडमा लामो समयदेखि आबद्ध भएपनि उनले तीन बर्ष अघिमात्र म्याराथनको स्पर्धामा आएको बताउँछन् ।
ट्रायक एण्ड फिल्डमा मेहनती खेलाडीको परिचय बनाएका किरण क्याम्पमा आएपछि अझ धेरै निखारिए । प्रशिक्षक धनिराम चौधरीले उनको खेललाई सुधार गर्न हरसम्भव प्रयास गरे ।
घरेलु एथ्लेटिक्समा गुमनाम जस्तै रहेका उनै किरण घरेलु मैदानमा ऐतिहासिक स्वर्ण जित्न सफल रहे ।
शनिबारको दौडमा उनी सुरुबाट अगाडी आए । आँटिलो रुपमा दौडिए । भारतीय खेलाडीलाई पछाडी पारे । एक समय उनले झण्डै डेढ किलोमिटरको अग्रता लिएका थिए ।
समापन बिन्दु नजिकिदै गर्दा किरण गल्न सुरु गरिसकेका थिए । तर सुरुमै धेरै अगाडी बढेका किरणलाई अन्तिम समयमा भारतीय खेलाडीले भेट्टाउन सकेनन् ।
‘सुरुमा अगाडी जान दिए । भेट्टाउँछु भन्ने लागेको थियो । तर अन्तिममा उसले भेट्नै दिएन ।’ रजतमा चित्त बुझाएका भारतीय खेलाडी श्री सिंहले दौडपछि भने ।
‘म्याराथनमा म नयाँ हो । दुर्भाग्यले कृण्ण दाईले खेल्न पाउनु भएन । उहाँ म भन्दा राम्रो खेलाडी हो ।’ जितपछि किरणले भने, ‘दौड ठिकै भो । नेपालको झण्डा बोकेर हिड्न पाउँदा राम्रो लागेको छ ।’
स्वर्णबारे उनीसंग बोल्न शब्द थिएनन् । उनी केही बेर भक्कानिए । स्वर्ण सम्झिदै परेली रुझाए । र अन्तिममा सो स्वर्ण आफ्नी आमालाई समर्पण गरे । जो केही समयअघि मात्र स्वर्गारोहण भएकी थिईन् ।
उनले आफ्नो जितको श्रेय आफुसग अभ्यास गर्ने खेलाडी गोपिचन्द्र पार्कीलाई दिए ।
‘यसको श्रेय सबै भन्दा धेरै गोपिचन्द्र पार्कीलाई जान्छ । उ संगै अभ्यास गर्ने खेलाडी हो । उसलाई पछ्याउँदै यहाँसम्म आईपुगे ।’ उनले भने ।
उनले बर्षको सुरुवातमा आठौं राष्ट्रिय खेलकुद खेलेका थिए । जहाँ उनी तेस्रो भए ।
अनि उनी सागको बन्द प्रशिक्षणमा परे । राम्रो गरे । म्याराथन थालेको तीन बर्षमै ऐतिहासिक उपलब्धी हात पार्न सफल रहे ।
कुनै अन्तराष्ट्रिय प्रतियोगिता नखेलेका, नजितेका किरणले पहिलो सहभागीतामै सागमा स्वर्ण जित्न सफल रहे ।
विभागको जागिर छ । परिवारमा दुई सन्तान छन् । कमाई सामान्य छ । तर उनले दौडका लागि सबै सकाएका छन् । दौडको सामान महङ्गा छन् । डाईडमा धेरै खर्च हुन्छ । एक हिसाबले किरण दौडमै जिन्दगीको खुसी खोजिरहेका छन् ।
उनलाई सबै भन्दा ठुलो सहयोग घरकी जहानको छ ।
उनले शनिबार बिहानै म्यासेज गरिन् । अल द वेस्ट भन्दै ।
सायद साँचो मनले गरेका कामना पुरा हुने रहेछन् ।
किरणले बिहानै खेल जिवनकै ठुलो सफलता हात पारेका थिए ।