काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
योसँगै नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ । यस्तै एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।
यस स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्य जिते । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे ।
भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत जिते ।
महिलातर्फको ५ हजार मिटर दौडमा श्रीलंकाकी उदा कुबुरालांगेले स्वर्ण जितिन् । भारतकी पारुल चौधरीले रजत र भारतकै प्रिती लाम्बाले कास्य जितिन् ।
महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ भने चौंथो स्थानमा रहिन् ।
महिला र पुरुष सटपुट दुवै विधाको स्वर्ण भारतको नाममा रह्यो । महिलातर्फ भारतकी आभा खातुवाले १५.३२ मिटर थ्रोका साथ स्वर्ण जित्दा श्रीलंकाकी थारिकाकुमुदुमले १४.३५ मिटर थ्रोका साथ रजत र भारतकी कचनार चौधरीले १३.६६ मिटर थ्रोका साथ कास्य जितिन् ।
नेपालकी चन्द्रकला थापाले आफ्नै नाममा रहेको १२.४ मिटरमा सुधार गर्दै १२.५२ मिटर थ्रोको नयाँ राष्ट्रिय कीर्तिमान रचिन् ।