काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको पुरुष ताइजिजान थाउलो प्रतिस्पर्धाको रजत विजेता भारतीय खेलाडीले पदक बहिस्कार गरेका छन् ।
धाधली गरेर अर्को खेलाडीलाई स्वर्ण दिएको भन्दै रजत विजेता भारतीय खेलाडी ज्ञानदास सिंहले पदक बहिस्कार गरेका हुन् ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार श्रीलंकाका थारिदु नमाल अनुरथले स्वर्ण जितेका थिए । ज्ञानदासले रजत र नेपालका हरि प्रसाद गोलले कास्य जितेका थिए ।
बुधबार पुरस्कार थाप्न नआएका ज्ञानदासले बिहिबार पनि पुरस्कार बुझेनन् । स्वर्ण विजेता अनुरथ र कास्य विजेता नेपालका हरिले मात्र पुरस्कार बुझेका छन् । बुधबार भने नेपालका हरिले समेत बहिस्कार गरेका थिए ।
श्रीलंकका अनुरथ कुल १८ दशमलब ९० अंकका साथ स्वर्ण पदक हासिल गरेका थिए । रजत विजेता भारतका ज्ञानले १८ दशमलब ७४ अंक प्राप्त गर्दा कास्य जितेका नेपालका हरिले कुल १८ दशमलब ४९ अंक हासिल गरेका थिए ।
नेपाल र भारतका पदाधिकारी र खेलाडीले बुधबारको फाइनल खेलमा जुरी (निर्णायक) ले धाधली गरेर श्रीलंकालाई स्वर्ण दिलाएको भन्दै करिब आधा घण्टा खेल अवरुद्ध गरेका थिए ।