काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुको ताइजिजान थाउलो प्रतिस्पर्धाको रजत र कास्य विजेता खेलाडीले पदक बहिस्कार गरेका छन् ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा धाधली गरेर अर्को खेलाडीलाई स्वर्ण दिएको भन्दै रजत र कास्य विजेता खेलाडीले पदक बहिस्कार गरेका हुन् ।
उक्त स्पर्धामा श्रीलंकाका थारिदु नमाल अनुरथले स्वर्ण जितेका थिए । उनले भारत,नेपाल र बंगलादेशका खेलाडीलाई पछि पारेर स्वर्ण हात परेका हुन् ।
स्वर्ण जित्ने क्रममा अनुराथले कुल १८ दशमलब ९० अंक पाए । रजत विजेता भारतका ज्ञानदास सिंहले १८ दशमलब ७४ अंक प्राप्त गर्दा कास्य जितेका नेपालका हरि प्रसाद गोलले कुल १८ दशमलब ४९ अंक सहित कास्य हासिल गरे ।
तर, नेपाल र भारतका पदाधिकारी र खेलाडीले जुरी (निर्णायक) ले धाधली गरेर श्रीलंकालाई स्वर्ण दिलाएको भन्दै करिब आधा घण्टा खेल अवरुद्ध गरेका थिए ।
पछि विवाद साम्य भएपछि अन्य स्पर्धाको खेल सुरु भएको थियो । तर, पदक वितरण समारोह भने लज्जास्पद रह्यो । भारत र नेपालका खेलाडी पदक लिनै गएनन् ।
श्रीलंकाका खेलाडी पदक लिन स्टेजमा पुगेपनि नेपाल र भारतका खेलाडी गएनन् । दुबै खेलाडीलाई अफिसियलहरु नजान ईशारा गरिरहेका थिए । करिब १० मिनेट उनीहरुलाई पर्खिएको थियो । उक्त स्पर्धाको पुरस्कार वितरण बिहिबारको लागि सारिएको छ ।
भारतका मुख्य प्रशिक्षक रभी प्रकाश त्रिपाठी र सचिदानन्दले आफ्ना खेलाडी विश्व वरियताको चोथौ स्थान रहेको र श्रीलंकाका खेलाडी कुनै पनि वरियतामा नहुदा कसरी स्वर्ण जित्यो भन्ने प्रश्न गरे । उनले दक्षिण एसियाली जुरी संघका अध्यक्ष श्रीलंकाकै भएको र त्यसैले धाधली गरेको खेलपाटीलाई बताए ।
नेपाल उसु संघका अध्यक्ष विर बहादुर तामाङले भने दुबै टिमले प्राटेक्स हाले पनि पुरस्कार बिहिबार दिईने बताए । यद्दपी उनले जुरीको निर्णय पनि पर्खने बताए ।