मनोज थापा
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्टमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्डहलमा नेपालको पुरुष र महिला टिमले तीन खेलमा ३ जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनल पुगेसँगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ ।
पुरुष टिममा नेपालका दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले भुटानविरुद्ध सहज जित हात पारे । दिपेशले भुटानका निदुप दोर्जीलाई २-० को सोझो सेटमा पराजित गरे । उनले पहिलो सेट २१-१३ र दोस्रो सेट २१-१४ को सहज जित हात पारे ।
प्रिन्सले भुटानकै नर्बु दर्धुललाई २-० को सोझो सेटमा पराजित गरे । उनले पहिलो सेट २१-१२ र दोस्रो सेट २१-५ को सहज जित हात पारे ।
रत्नजितले भुटानकै अनिश गुरुङलाई २-० को सोझो सेटमा जित हात पारे । उनले पहिलो सेट २१-६ र दोस्रो सेट २१-९ को सहज जित हात पारेका हुन् ।
यस्तै महिला टिममा रसिला महर्जन, नङ्शल तामाङ र जेसिका गुरुङले बंगलादेशविरुद्ध जित हात पारिन् ।
रसिलाले बंगलादेशकी अलिना सुल्तान तथा जेशिका गुरुङले ब्रिस्टिक खातुनलाई २-० को सोझो सेटमा पराजित गरिन् । रशिलाले २८-२६ र २१-१९ को सेटमा बंगलादेशकी अलिनालाई पराजित गर्दा जेशिकाले २१-१७ र २२-२० को सेटमा खातुनलाई पाखा लगाईन् ।
यस्तै नङ्शलले बंगलादेशकी शाइपा अक्तरलाई २-१ को सेटमा पराजित गरिन् । पहिलो सेटमा २१-१८ ले पराजित भएकी नङ्शलले पछिल्लो २ सेटमा उत्कृष्ट कम्ब्याक गरेकी थिइन् । दोस्रो सेटमा २१-१५ तथा तेस्रो सेटमा २१-१७ को सहज जित हात पार्न सफल भईन् ।