काठमाडौं । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि सरकारले घोषणा गर्ने तयारी गरेको विशेष प्योकज मंगलबार सार्वजनीक हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि मंगलबारको पुर्वनिर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन नसकेको हो ।
मंगलबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । लगत्तै उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्रीले आफ्नो अनुपस्थितीमा अर्थमन्त्री युवराज खतिवडालाई कार्यक्रममा पठाएका थिए । तर अर्थमन्त्री खतिवडाले सरकारले खेलाडीलाई लागि विशेष प्याकेजको घोषणा गर्न सकेनन् ।
‘संघीय सरकार दुई मन्त्री यही छौं । खेलकुद मन्त्रीले प्रस्ताव पेश गर्नुहुन्छ । मन्त्री परिषद्ले निर्णय गर्छ ।’ उनले भने ।
उनले सागको पुरस्कार राशीमा उल्लेख्य वृद्वि गर्न सरकार प्रतिबद्व रहेको बताए ।
अर्थमन्त्री खतिवडाले राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल बनाउने प्रतिबद्वता कार्यक्रममा जनाए ।
आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको संघारमा प्रधानमन्त्रीमार्फत खेलाडीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरेका थिए ।
साग विजेता खेलाडीलाई दिने पुरस्कार प्रधानमन्त्रीको सम्बोधनमा समावेश गर्ने राखेप र मन्त्रालयको तयारी थियो ।
तर प्रधानमन्त्री अन्तिम समयमा बिरामी परेपछि कार्यक्रम खल्लो बनेको थियो ।
यद्वपी सेन्ट्रल जोन जितेको महिला भलिबल टिमका खेलाडीलाई भने पुर्व घोषित जनही ३ लाख वितरण गरिएको थियो ।
प्रधानमन्त्रीको बिशेष प्याकेज सुन्न राखेपले देशभित्र प्रशिक्षणमा रहेका सबै खेलाडीलाई प्रज्ञाप्रतिष्ठानमा जम्मा गरेको थियो ।
वैदेशिक प्रशिक्षणमा रहेका ह्याण्डबल, टेबुलटेनिस र फेन्सिङ बाहेक सबै खेलका खेलाडी कार्यक्रममा आएका थिए ।
हेटौडामा रहेको कुस्ती, पोखरामा रहेको महिला फुटबल, ब्याडमिन्टन, आर्चरी, ट्रायथलन र बिच भलिबल तथा काठमाडौंमा रहेका बाँकी खेलका करिब ५ सय खेलाडी कार्यक्रममा उपस्थित रहेको राष्ट्रिय टिम तयारी समितिका संयोजक रीम रानाभाटले खेलपाटीसंग बताए ।
उनीहरु दैनिक प्रशिक्षण छाडेर प्रधानमन्त्रीको विशेष प्याकेज सुन्न काठमाडौं आएका थिए । तर सरकारबाट विशेष प्याकेज घोषणा नभएपछि उनीहरु प्रशिक्षण स्थलमा फर्किएका छन् ।
सरकारले सागको स्वर्ण विजेतालाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख रुपैयाँ सहित सम्मान गर्दै आएको थियो ।
घरेलु भुमीमा हुने साग अगाडी खेलाडीको पुरस्कार राशीमा वृद्वि गर्ने राखेपको तयारी छ । सो घोषणा प्रधानमन्त्रीबाट गराउने योजना रहेकाले तत्काल विशेष सम्बोधन हुन नसकेको राखेप स्रोत बताउँछन् ।
‘स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीले चाँडै विशेष प्याकेजको घोषणा गर्नुहुनेछ ।’ राखेपका एक पदाधिकारीले भने ।