पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित निर्माणाधीन ब्याडमिन्टन हलको कार्य अन्तिम चरणमा पुगेको छ ।
साग नजिकिदै गर्दा पोखरामा बन्दै गरेको ब्याडमिन्टन हलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको हो ।
कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बर सिहं गुरुङले अब हलमा म्याट राख्ने र सरसफाईको काम मात्र बाँकी रहेको जानकारी गराए ।
'ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ,' अध्यक्ष गुरुङले भने । उनले म्याट केहि दिनमा पोखरा आइपुग्ने बताए ।
ब्याडमिन्टन हल निमार्णको लागि करिब साढे चार करोड रुपैयाँ खर्च लागेको समेत अध्यक्ष गुरुङले जानकारी दिए ।
ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ वटा कोर्ट रहेको छ । तर, सागका लागि भने ३ वटा कोर्ट मात्र प्रयोग गरिने छ ।
साग अन्तर्गत ब्याडमिन्टनमा नेपालबाट पुरुष १० र महिला १० गरि २० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।