काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आउने विदेशी पाहुनालाई काठमाडौं महानगरले रिसेप्सन पाटी दिने भएको छ ।
प्रतियोगिताको आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रस्ताव स्विकार गर्दै काठमाडौं महानगरले सागमा आउने करिब हजार जना विदेशी पाहुनालाई रिसेप्सन पाटी दिन तयार भएको हो ।
सागलाई भब्य रुपमा सफल बनाउन राखेपले काठमाडौ महानगरसंग सहयोगको आग्रह गरेको थियो ।
राखेप सदस्य सचिव रमेश सिलवालले आईतबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य सहित वडा अध्यक्षसंग संयुक्त छलफल गरेका थिए ।
भेटमा सदस्य सचिव सिलवालले अन्तराष्ट्रिय प्रचलन अनुसार प्रतियोगिता हुने शहरले समेत आयोजकको दायित्व वहन गर्ने भएकाले स्वागतद्वार लगायत विभिन्न सहयोगका लागि आग्रह गरेका थिए ।
राखेपले अघि सारेका १२ बुँदे सहयोगका अपेक्षालाई महानगरले स्विकार गर्दै साग आयोजनामा आफुले दायित्व लिने बताएको हो ।
यस्तै, महानगरले अन्तराष्ट्रिय विमानस्थलदेखि दरबारमार्गसम्म विभिन्न स्थानमा स्वागत द्वार निर्माणको व्यवस्था गर्ने भएको हो ।
यस्तै, शहरको सरसफाई, दमकल, मोबाईल ट्वाईलेट र एम्बुलेन्सको ब्यवस्था, खाल्डाखुल्डी सडक मर्मत गर्ने व्यवस्था तथा रंगशालामा प्रवेश गर्न नपाउने दर्शककालागि विभिन्न स्थानमा एलईडी टिभी राखेर खेलकुद हेर्ने व्यवस्था महानगरले मिलाउनेछ ।
सागमा आउने विदेशी पाहुनालाई कार्डका आधारमा बसन्तपुर दरबार प्रवेश निशुल्क गरिने महानगर प्रतिबद्वता जनाएको छ ।
यस्तै, होडिङ तथा ईलेक्ट्रोनिक बोर्डमा खेलकुदको प्रचार गर्नुकासाथै महानगरको एफ एमबाट सागको प्रचार कार्यमा महानगरले सघाउने छ ।