काठमाडौं । थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र भियतनामका काव सुओङ्ग फामले योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जको उपाधि जितेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले हराउँदै महिला एकलतर्फको उपाधि जितिन् ।
यस्तै पुरुषतर्फ उपाधि जित्ने क्रममा फामले थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले हराए ।
उपाधिसँगै पोर्नतिप र फामले १ हजार ८७५ युएस डलर प्राप्त गरे । उपविजेता बनेका खेलाडीले ९५० डलर तथा तेस्रो भएका खेलाडीले ३६२.५० डलर प्राप्त गरे ।
महिला युगलतर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्लेको जोडीले उपाधि जिते । अष्ट्रेलियन जोडीले फाइनलमा मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे । यस्तै पुरुष युगलतर्फ आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले भारतकै एम.आर. अर्जून र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि जिते ।
मिश्रीत युगलतर्फ थाइल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधी हात पारे । थाईजोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेका हुन् ।
पुरुष तथा महिला जोडी र मिश्रीत जोडीले नगद १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्य एकेन्द्र कुँवर, नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणालगायतले पुरस्कार वितरण गरेका थिए ।
पाँच दिन सम्म चलेको प्रतियोगितामा २१ राष्ट्रका १४९ खेलाडीहरुको सहभागिता रहेको थियो । पहिलो पटक नेपालले आयोजना गरेको च्यालेञ्जको पुरस्कार रासी २५ हजार डलरको थियो ।