काठमाडौं । योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा नेपाली खेलाडीको चुनौती सकिएको छ ।
प्रतियोगिताको दोस्रो दिन बिहिबार नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रहदा नेपालको चुनौती सकिएको हो ।
पहिलो दिन जित निकालेका दिपेश धामी र बिष्णु कटुवालले दोस्रो दिन जित निकाल्न सकेनन् । बिष्णु कोरियाका यु जिन सोनसंग २३–२१, २१–१७ ले पराजित हुन पुगे । यस्तै दिपेशले भियतनामका खेलाडी साव सुङ्ग फामसंग २१–१३, १७–२१, २१–४ को हार व्यहोरे ।
यस्तै अघिल्लो दिन वाकओभर प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरेका नविन श्रेष्ठ भारतका सहर्ष मोहनसँग पराजित भए । पहिलो सेट २९–२७ मा हराएर नेपाली दर्शकलाई उत्साहित बनाएका नविन दोस्रो र तेस्रो सेटमा २१–१८, २१–१८ को समान अन्तरले पराजित हुन पुगे ।
महिला एकलमा सिता राई थाईल्याण्डकी खेलाडी पोर्नतिप बुरानाप्रसेर्तुकसंग २१–३, २१–४ ले पराजित भईन् । अधिल्लो दिन सिता भुटानकी फुन्सटो चोदेन थिङ्गलाई २१–१८, २१–१७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी थिईन् ।
यसैगरि अघिल्लो दिन भुटानकी संझना गुरुङलाई २१–६, २१–१२ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेकी निता लम्साल भारतकी मुग्धा आग्रेसँग २१–४, २१–११ ले पराजित हुन पुगिन् ।
पुरुष युगलतर्फ जीवन आचार्य र सुनिल जोशीको जोडी जापानका सोतारो ईनामित्सु र रिकी ताकेईको जोडीसंग २१–१०, २१–११ ले, दिपेश धामी र रत्नजित तामाङको जोडी थाईल्याण्डका रत्तनपाक अपथङ्ग र नान्थाकर्न योर्दफाईसोङ्गसंग २१–१२, २१–११ले, विजित थापा मगर र बिष्णु कटुवालको जोडी कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानको जोडीसंग २१–१२, २१–११ ले तथा बिकास श्रेष्ठ र नविन श्रेष्ठको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडीसंग २१–१२, २१–१४ ले पराजित भए ।
मिश्रीत युगलमा पनि नेपाली खेलाडरुको प्रदर्शन राम्रो रहन सकेन । रत्नजित र अनुमाया राईको जोडी कोरियाका वाङ्ग छान र सिउङ्ग मिन किमको जोडीसंग २१–१६, २१–८ ले पराजित भए । यस्तै विकास राई र सिता राईको जोडीले पनि पराजयको निरन्तरतालाई रोक्न सकेनन् । श्रेष्ठ र राईको जोडीले भारतका बि. सुमिथ रेड्डी र कुहु गर्गको जोडीसंग २१–१४, २१–१२ हार ब्यहोरे । यस्तै विजित थापा मगर र पुजा श्रेष्ठको जोडी पनि अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग लिउङ्ग र ग्रोन्या सोमरभिलसंग २१ – १६, २१–८ ले पराजित भए ।