पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि नेपाली ह्यान्डबल टिमको वैदेशिक तयारी भारत र थाइल्याण्डमा हुने भएको छ ।
सागका लागि करिब तीन महिनाबाट पोखरामा तयारी गरिरहेको नेपाली पुरुष टिमले भारत र महिला टिमले थाइल्याण्डमा तयारी गर्ने भएका छन् ।
पुरुष टिमले भारतको चण्डिगढस्थित पटियालामा प्रशिक्षण गर्नेछ भने महिला टोलीले बैंककमा प्रशिक्षण गर्ने नेपाल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।
बैंककमा महिला टोलीले बैंककको विश्वविद्यालय टोलीसँग १० देखि १२ वटा मैत्रीपूर्ण खेल्ने छन् । यस्तै पुरुष टोलीले त्यहाँ भारतको विभिन्न स्थानिय टिमसँग मैत्रीपूर्ण खेल खेल्ने छन् ।
१३ औं साग अन्तर्गत ह्यान्डबल मंसिरको १७ गतेबाट पोखरा कभर्डहलमा हुनेछ । जसमा ६ राष्ट्रका महिला पुरुष टोलीको सहभागिता रहनेछ ।
भारत जाने पुरुष खेलाडीहरुमा टिम कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिं बोहोरा, संदिप कार्की, रण सिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यम बहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन् ।
यसै गरि महिला टिम तर्फ टिम कप्तान रञ्जना राई, बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा रहेका छन् ।