काठमाडौं । विश्व अल्ट्रा दौड अन्तर्गतको गोल्डेन ट्रेल वर्ल्ड सिरिजको उपाधि किलियन जर्नेट र जुडिथ वाइडरले जितेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शुक्रबार भएको अल्ट्रा दौडमा पुरुषतर्फ स्पेनका किलियन र महिलामा स्विजरल्याण्डका जुडिथले जितेकी हुन् ।
उपाधि जित्ने क्रममा किलियनले निर्धारित दुरी ४ घण्टा ४६ मिनेट ०.५ सेकेण्डमा पुरा गरे । पुरुषतर्फ इटालीका डेभिड माग्निनीले ४ घण्टा ५९ मिनेट ५९ सेकेण्डको समय सहित दोस्रो र नर्वेका स्टेन एन्गरमढले ५ घण्टा ८ मिनेट २ सेकेण्डको समयसहित तेस्रो भए ।
महिलातर्फको उपाधि जित्ने क्रममा जुडिथले ५ घण्टा ९ मिनेटको समय निकालिन् । इटलीका सिल्भिया राम्पाज्जो ६ घण्टा १३ मिनेट १९ सेकेण्डको समयसहित दोस्रो र दक्षिण अफ्रिकाकी मेगान म्याकेन्जी ६ घण्टा ३३ मिनेट २८ सेकेण्डसहित तेस्रो बनिन् ।
माछापुच्छ्रे गाउँपालिकाको लुम्म्रेको १ हजार २ सय मिटर उचाइबाट सुरु भएको दौड मार्दी हिमालको हाइक्याम्प ३ हजार ७८० मिटर उचाइमा पुगेर सकिएको थियो ।
दौडमा विभिन्न देशको अल्ट्रा दौडबाट फाइनल चरणमा प्रवेश गरेका १० पुरुष र १० महिला धावकले प्रतिस्पर्धा गरेका थिए । यस्तै विभिन्न देशका अन्य १४० धावकहरु पनि सहभागी भएका थिए ।
तस्बिर - Golden Trail Series