काठमाडौं । मंगल टोल सुधार समितिको आयोजनामा ११ औं संस्करणको यल कप ब्याडमिन्टन प्रतियोगिता शनिबारबाट आयोजना हुने भएको छ ।
आयोजकले बुधबार प्रेस विज्ञप्ति निकाल्दै ११ औं संस्करणको प्रतियोगिता कात्तिक २ देखि ९ गतेसम्म हुने जानकारी गराएको छ ।
पाटन दरबार क्षेत्र मंगलबजार स्थित आदर्श कन्या स्कुलको प्रांगणमा सञ्चालन हुने प्रतियोगितामा ललितपुरका विभिन्न वडाका ४२ टोलका करिब १ सय ६० जना खेलाडीहरुले भाग लिने छन् ।
२ वटा कोर्टमा चार इभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुने छ । जसमा १५ वर्षमुनिका किशोरहरुको यु¬ १५ सिंगल, पुरुष मेन्स डबल्स, भेट्रान्स मेन्स डबल्स र मिक्स डबल्स इभेन्ट रहेका छन् ।
प्रतियोगितामा १५ वर्ष मुनिका केटाहरुको सिंगल इभेन्टमा पहिलो हुनेलाई ८ हजार रुपैयाँ, दोस्रो हुने ४ हजार रुपैयाँ र तेस्रो हुने २ हजार रुपैयाँ, मिक्स डबलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ पाउने छन् ।
यस्तै मेन्स डबलमा पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ र भेट्रान्स युगलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ प्रदान गरिने छ ।