काठमाडौं । चीनको संघाई शहरमा आयोजना हुने १५ औँ विश्व उसु च्याम्पियनसिपमा नेपालका ११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।
११ खेलाडी र ५ अफिसियलसहित १६ सदस्सीय नेपाली टिम बिहिबार त्यसतर्फ जाने छन् । नेपाली टोलीको नेतृत्व नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले गरेका छन् ।
नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ । गैरिधारा रेष्टुरेन्टमा आयोजित विदाई कार्यक्रममा विश्व च्याम्यियन उसु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुको हौसला बढाउन उसु महासंघले खेलाडीहरुलाई एक एक सेट ‘केल्मी ट्रयाकसुट’ प्रदान गरेको थियो । उक्त ट्रयाकसुट महासचिव लामाले खेलाडीलाई हस्तान्तरण गरेका थिए ।
खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्न अध्यक्ष वीरवहादुर तामाङले ४० हजार, उपाध्यक्ष नानीबाबु तामाङले २५ हजार र महासचिव ल्हाकपा छिरिङ लामाले २५ हजार सहयोग गरेका थिए । विदाई कार्यक्रमा महासचिव लामाले सहभागि खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वास प्रकट गर्दै सफलताको शुभकामना दिए ।
सो अवसरमा उसुका मुख्य प्रशिक्षक अमरकुमार सिंह र टेक्नीकल डाइरेक्टर गणेश अर्याल र महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।