काठमाडौं । नेपालका कमल थापाले नेपाल आईटीएफ सिनियर्स वल्र्ड र्याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत ५५ वर्षमाथि पुरुष सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा कमलले नेपालकै प्रदीपबहादुर शाहलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्स ६० वर्षमाथि अमेरिकाका एजेएस छत्वालले अस्ट्रेलियाका रोबर्ट म्याक गुइगानलाई ६–४, ७–६ (७–५) ले पहिलो भए । ५० वर्षमाथि पुरुष सिंगल्समा भारतका तुलेश्वरसिंह थोङबाम पहिलो भए । उनले फाइनलमा भारतकै शंकर कृष्णस्वामीलाई ६–२, ४–६, १–२ (रिटायर्ड) पाखा लगाए ।
४५ वर्षमाथि पुरुष सिंगल्समा डेनमार्कका निकोलाइ रास्त्रुपले बाजी मारे । उनले फाइनलमा भारतका योगेश कोहलीलाई ६–० र ६–० ले सहजै पन्छाए । ४० वर्षमाथि पुरुष सिंगल्समा भारतका दीपक मार्वाहाले नेपालका महेश श्रेष्ठलाई ३–६, ६–२ र ६–४ को सेटमा पराजित गरे ।
पुरुष सिंगल्स ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले नेपालकै भीष्मजंग गुरुङलाई ६–३ र ६–३ ले पराजित गर्दै पहिलो भए । पुरुष डबल्स ४५ वर्षमाथि भारतका योगेश कोहली र शंकर कृष्णस्वामीको जोडीले नेपालका प्रताप मोक्तान र जितेन्द्र प्रधानको जोडीलाई ६–४ र ६–३ ले पाखा लगाउदै शीर्ष स्थान हात पारे ।