काठमाडौं । मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए ।
यस स्पर्धामा नेपालका प्रिन्स दाहाल र भारतका कात्तिकेय सुल्सान कुमार तेस्रो भए ।
महिला एकलको फाइनलमा माल्विकाले भारतकै गायत्री गोपीचन्द पुलेलालाई २१–१४, २१–१८ ले स्तब्ध बनाईन् ।
त्यस्तै, भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले पुरुष डबल्सको उपाधि जिते । रोहन र सौरवको जोडीले मलेसियाका इजात फरहान अजहर र जाचेरी चियोङ सियको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा हराए ।
यस्तै, भारतका भेनकाट गरुव प्रसाद र जुही देवानगनको जोडीले मिक्स डबल्सको उपाधि जिते । सो जोडीले थाइल्यान्डका बोरनवाटानोउङ फुथापोर्न र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीलाई हराएको हो ।
बोरनवाटानोउङ र रिरिनको जोडीले दोस्रो सेटको बीचमै खेल त्यागेपछि भेनकाट र जुही विजेता बनेका थिए । बोरनवाटानोउङको दायाँ हातमा चोट लागेपछि उनले बीचमै खेल त्याग्ने निर्णय गरेका थिए ।
यता, महिला डबल्सको उपाधि नेपालले जित्यो । यस स्पर्धामा विदेशी खेलाडी सहभागी थिएनन् ।
आइतबार नै भएको फाइनलमा नेपालकी पुजा श्रेष्ठ र नङ्शल तामाङको जोडीले जेसिका गुरुङ र अनुमाया राईको जोडीलाई २१–१५, २१–१६ ले हराउँदै उपाधि जिते ।