काठमाडौं । नेपाल उसु महासंघ र दक्षिण एसियाली उसु महासंघको आयोजनामा तेस्रो दक्षिण एसियाली उसु जज सेमिनार असोज ८ गते काठमाण्डौंमा शुृरु भएको छ ।
कपनस्थित मुखम होटलमा संचालन उक्त सेमिनार पाँच दिनसम्म चल्ने आयोजक उसुसंघका महासचिव ल्हाकपा छिरिङ शेर्पाले जानकारी गराए ।
दक्षिण एसियाली उसु सेमिनारमा दक्षिण एसियाली मुलुकका पाँच राष्ट्र नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन् । सेमिनारमा नेपालका ३०, बंगलादेशका १०, पाकिस्तानका ७, श्रीलंका १२ र माल्दिभ्सका ४ जना प्रतिनिधिले सहभागिता जनाएका छन् ।
उक्त सेमिनारमा एसियाली उसु महासंघका चाइनीज एक्स्पट तथा विदेशी प्रशिक्षक बु नैबिन र काई हु प्रशिक्षण दिन नेपाल आएका छन् । त्यस्तै श्रीलंका साउथ एसियन टेक्निकल डाईरेक्टर रुचिरा बुदीनागडाको पनि सेमिनारमा उपस्थिति रहेको छ ।
नेपालमा आउँदो मंसिर १५ गते देखि संचालन हुन गैरहेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दक्ष प्राविधिक उत्पादन गर्नको लागि जज सेमिनारको आयोजना गरिएको महासचिव लामाले बताए ।
सेमिनार नेपाल उसु महासंघ र दक्षिण एसियाली उसु महासंघका अध्यक्ष बीरबहादुर तामाङको अध्यक्षतामा संचालन भएको थियो । सेमिनारको विशेष अतिथि राष्ट्रिय खेलकुद परिषदकि सदस्य इन्दिरा निरौलाले सेमिनारको उद्घाटन गरेकि थिइन् ।
कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दीपक लामाले लामो समय अर्थात १० बर्षपछि संचालन भएको उसु जज सेमिनारले उसु खेलको विकास र विस्तारमा नयाँ आयाम थप्ने बताए ।