काठमाडौं । तेस्रो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको पुरुषतर्फको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ ।
धादिङको बैरेनीमा बुधबार भएको प्रतियोगितामा भारतीय सेनाको दुई टिमलाई पछि पार्दै आर्मीको 'ए' टिम च्याम्पियन बनेको हो । भारतीय सेनाको 'ए' र 'बी' टिम क्रमश दोस्रो र तेस्रो भयो ।
उपाधिसँगै आर्मीले १ लाख ५० हजार नगद प्राप्त गरेको छ । उपविजेताले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गरे ।
नेपाली सेनाले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि एनटिए टिमले जितेको छ ।
प्याडल नेपाल दोस्रो र नेपाली चेली तेस्रो स्थानमा रह्यो । महिलातर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गरे ।
साहसिक खेलकुद अन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश हुनेछ । जसमा खेलाडीले ६.७ किमीको दौड, २६ किमीको साइक्लिङ र ११ किमीको र्याफ्टिङ गर्नेछन् ।
प्रतियोगितामा पुरुषतर्फ ५ विदेशीसहित १६ टिमले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गरेका थिए ।
तस्विर : रेस डिरेक्टर राजिब चन्दको फेसबुक