काठमाडौं । तेस्रो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिता असोज पहिलो साता आयोजना हुने भएको छ ।
नेपाली सेनाको आयोजनामा धादिङको बैरेनीमा हुने प्रतियोगिता असोज १ गते आयोजना हुनेछ ।
साहसिक खेलकुद अन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश हुनेछ । जसमा खेलाडीले ६.७ किमीको दौड, २६ किमीको साइक्लिङ र ११ किमीको र्याफ्टिङ गर्नेछन् ।
प्रतियोगितामा ५ विदेशीसहित १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा भारतबाट २, बंगलादेश, माल्दिभ्स र श्रीलंकाबाट १/१ र नेपालबाट आयोजक आर्मीको दुईसहित ८ टोलीको सहभागिता रहने रेस डिरेक्टर राजिब चन्दले खेलपाटीलाई जानकारी गराए ।
यस्तै प्रतियोगितामा ३ महिला टिमले प्रतिस्पर्धा गर्ने समेत चन्दले जानकारी गराए ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले १ लाख ५० हजार नगद प्राप्त गर्ने छन् । उपविजेताले १ लाख नगद र तेस्रोले ७५ हजार पाउने छन् ।
यस्तै महिलातर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार पाउने छन् ।