काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को कार्य समितिको निर्वाचन स्थगित भएको छ ।
सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै शुक्रबारका लागि तय भएको एनओसीको निर्वाचन स्थगित भएको हो ।
एनओसीले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै भदौ २० गतेका लागि तय भएको निर्वाचन स्थगित गरिएको जनाएको छ । अदालतले चुनाव रोक्न पठाएको पत्र बुझेपछि एनओसीले निर्वाचन रोकेको हो ।
एनओसीको निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाएको छ ।
'भोलि मिति २०७६/५/२० गते हुने एनओसीको कार्यसमितिको निर्वाचन कार्यतालिका अनुसारको मतदान कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन रोक्न माग गर्दै अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमल बहादुर चित्रकारको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो ।
एनओसीका पूर्व महासचिव समेत रहेका चित्रकारले अवैधानिक घोषित एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ, खेलकुद मन्त्रालय, राखेप, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाउदै रिट दायर गरेका थिए ।
यस्तै अदालतले दुवै पक्षलाई भदौ २२ गते छलफलका लागि बोलाएको छ ।