काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीले भदौ २० को निर्वाचन रोक्ने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेशसंगै भदौ २० गतेका लागि तय निर्वाचन रोक्ने निष्कर्षमा एनओसीको नेतृत्व पुगेको हो ।
अदालतले चुनाव रोक्न पठाएको पत्र आफुहरुले बुझेको पुष्टि गर्दै एनओसीले अवैधानिक चुनाव गर्ने पक्षमा आफुहरु नरहेको बताएको छ ।
अदालतको आदेशलाई लत्याउँदै एनओसीको चुनाव भएको ईतिहास नेपाली खेलकुदमा चर्चित छ ।
तर वर्तमान नेतृत्व अदालतको आदेशलाई शिरोपर गर्दै भदौ २२ गतेका लागि अदालतमा छलफलमा जाने तयारीमा जुटेको छ ।
‘अदालतले दिएको चिठी हामीले बुझेका छौ । चिठी बुझेको अवस्थामा चुनाव गराउने कुरा अवैधानिक हो ।’ ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठ निकट एक पदाधिकारीले खेलपाटीसंग भने, ‘अदालतले तोकको पेशीमा उपस्थित भएर छलफल गछौ । तर त्यसपछि अदालतको निर्णय अनुसार अघि बढ्छौ ।’
‘चुनाव नहुने पक्का छ । औपचारिक धारणा चाँडै सार्वजनीक हुन्छ ।’ उनले भने ।
अदालतको आदेशपछि ओलम्पिक कमिटिको औपचारिक बैठक बसेको छैन । बैठकले सो निर्णयमा औपचारिक निर्णय गर्न भने बाँकी छ ।
एनओसी अध्यक्ष श्रेष्ठले आफुले अदालतको चिठी बुझेको पुष्टि गर्दै चाँडै आधिकारिक धारणा बाहिर ल्याउने बताएका छन् ।
‘चिठी बुझेका छौ । के गर्ने भन्ने बारे छलफल हुदैछ । अनि मात्र आधिकारिक धारणा बाहिर आउनेछ ।’ उनले खेलपाटीसंग भने ।
संघीय संसदमा सदस्य समेत रहेका एनओसी अध्यक्ष श्रेष्ठ अदालतको निर्णयलाई अस्विकार गर्दै अघि बढ्ने मुडमा छैनन् ।
निर्वाचन रोक्न माग गर्दै अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमल बहादुर चित्रकारको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो । अदालतले दुवै पक्षलाई भदौ २२ गते छलफलका लागि बोलाएको छ ।
'रिट निवेदनको बिषयको गम्भीर्यतालाई दृष्टिगत गर्दा दुवै पक्ष राखी छलफल गरी उचित निकासमा पुग्नु मनासिव देखिएको छ ।' आदेशमा भनिएको छ ।
संघका पुर्व महासचिव समेत रहेका चित्रकारले अवैधानिक घोषित एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ, खेलकुद मन्त्रालय, राखेप, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाउदै रिट दायर गरेका थिए ।
राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई रुक्म शम्सेर राणा पक्ष र अन्तराष्ट्रिय मान्यता प्राप्त एनओसीलाई जीवनराम श्रेष्ठले नेतृत्व गर्दै आएका छन् ।
एनओसीको चुनाव भदौ २० गते तय गरिएको थियो । नयाँ नेतृत्वका लागि तय निर्वाचनमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ भिड्ने तयारी गरेका थिए ।