पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रशिक्षणका लागि सहारा एकेडेमीको मैदान उपयुक्त रहेको बताएका छन् ।
दोबिल्लास्थित सहारा एकेडेमीको मैदान भ्रमणपछि सदस्य–सचिव सिलवालले महिला साग फुटबल प्रशिक्षणका लागि मैदान उपयुक्त रहेको बताएका हुन् ।
'सहारा एकेडेमीको बारेमा सुन्दै आएको थिए आज एकेडेमी हेर्ने मेरो इच्छा पुरा भएको छ । यो निकै व्यवस्थित रहेछ । खेल मैदान पनि उपयुक्त छ,' सदस्य सचिब सिलवालले भने, 'जग्गाको अभाव भएको अवस्थामा २६ रोपनी क्षेत्रफल रहेको एकेडेमी आफैमा निकै राम्रो र ब्यवस्थित छ ।'
सहारा क्लबको प्रयासलाई सफल पार्न सबैमा आग्रह गर्दै सदस्य सचिव सिलवालले परिषद्ले आफ्नो क्षेत्रबाट एकेडेमीका लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेको समेत बताए ।
एकेडेमीको निरिक्षणका क्रममा राखेप सदस्य–सचिव सिलवालसंगै सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा ,सहारा यूके महासचिब धनु थकाली, सहारा यूकेका सल्लाहकार महेश गुरुङ, मुच्छेत्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
भ्रमणको दौरान क्लबका अध्यक्ष केशब बहादुर थापाले क्लबको गतिविधिको बारेमा जानकारी गराएका थिए ।