काठमाडौं । सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा राष्ट्रिय लिड क्लाइम्बिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता (भोलि) शनिबार हुने जनाएको छ ।
पर्वतीय खेलकुद महासंघको सहयोग तथा समन्वयमा प्रतियोगिता ठमेलको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुनेछ ।
च्याम्पियनसिपमा १३ महिला र ३३ पुरुष गरी कुल ४६ जना खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले १५ हजार र तेस्रोले १० हजार पाउने छन् ।यस्तै विजेता खेलाडीलाई पहिलो प्राथमिकतामा राख्दै ६ महिनाभित्र हुने अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर दिईनेछ ।
प्रतियोगितामा दुई विभागीय टिमको सहभागिता रहने छ । विभागिय टोलीमा त्रिभुवन आर्मी र नेपाल स्काउटको चारुमती ओपन स्काउट ट्रुप र क्रु रहेका छन् ।
प्रतियोगिताको लागि रुट तय गर्न संघले अमेरिकी टेक्निकल अफिसियल कुपर मेलाई नियुक्त गरेको छ । यस्तै प्रमुख जुरीमा संघका केन्द्रिय सदस्य तुल्सिङ गुरुङलाई नियुक्त गरिएको संघका महसचिब मेघ राज पौडेलले जनाएका छन्।