काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग २०७५ मा व्यक्तिगत स्पर्धातर्फका सर्वोकृष्ट खेलाडीले एक हप्ता भित्र पुरस्कार वापतको मोटरसाईकल पाउने भएका छन् ।
लिगको प्रायोजन अधिकार लिएको रामसार मिडिया प्रालीले एक हप्ताभित्र पुरस्कार वापतको बाँकी रकम र मोटरसाईकल उपलब्ध गराउने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।
लिग सकिएको झण्डै एक बर्ष बित्दा समेत खेलाडीले विधागततर्फको पुरस्कार वापतको मोटरसाईकल प्राप्त गर्न सकेका छैनन् ।
लिगको प्रायोजन तथा प्रवद्र्वनको अधिकार पाएको रामसारले सम्झौता अनुसारको रकम एन्फालाई उपलब्ध गराउन सकेको छैन । साथै उसले विधागततर्फका उत्कृष्ट खेलाडीलाई उपलब्ध भनिएको पल्सर मोटरसाईकल दिन समेत ढिलाई गरेको छ । सोही कारण एन्फा र खेलाडीले लिगको मुख्य प्रायोजन अधिकार लिएको रामसारबाट रकम प्राप्त गर्न सकेका थिएनन् ।
आईतबार एन्फा र रामसारका प्रतिनिधिबीच लिगको पुरस्कार र प्रायोजन रकमको बिषयमा छलफल भएको थियो । रामसार मिडियाले एक हप्ताभित्रमा प्रायोजन वापतको बाँकी रकम र मोटरसाईकल उपलब्ध गराउने लिखित समझदारी एन्फासंग गरेको छ ।
‘रामसारले ब्याज सहित लिगको बाँकी रकम दिने लिखित सम्झौता गरेको छ ।’ एन्फाका एक पदाधिकारीले भने, ‘बाँकी रकम र मोटरसाईकल एक हप्ताभित्र उपलब्ध गराउने समयसिमा छ ।’
एन्फाले लिगको प्रायोजन अधिकार पहिलो बर्ष एक करोडमा बेचेको थियो । दोस्रो बर्ष डेढ र तेस्रो बर्ष २ करोड हुने गरि तीन बर्षको सम्झौता रामसार र एन्फाबीच भएको थियो ।
तर रामसारले पहिलो बर्षको ३० लाख मात्र एन्फालाई उपलब्ध गराएको छ । उसले अब ब्याज सहितको बाँकी रकम एक हप्ताभित्र एन्फालाई बुझाउने छ । साथै खेलाडीको रोकिएको पुरस्कार वापतको मोटरसाईकल समेत हस्तान्तरण गर्नेछ ।
करिब ५ बर्षपछि सुरु भएको ए डिभिजन लिगमा उत्कृष्ट गोलकिपर बिशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर रन्जित धिमाल, उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ, उत्कृष्ट फरवार्डमा भरत खवास र उत्कृष्ट प्रशिक्षकमा सुमन श्रेष्ठ घोषित भएका थिए । विधागततर्फका उत्कृष्टलाई मोटरसाईकल दिने बताईएको थियो ।
लिगको प्रायोजनको जिम्मेवारी लिएको रामसार मिडियाले भने मुख्य प्रायोजकबाट समयमा पैसा उपलब्ध नहुदाँ रकम दिन ढिलाई भएको स्विकारेकोे छ । उसले पल्सरलाई मुुख्य प्रायोजकको रुपमा गत बर्ष लिगमा भित्राएको थियो ।
‘मुख्य प्रायोजकबाट पैसा उठ्न ढिला हुदाँ समयमा उपलब्ध गराउन सकेनौ । सोही कारण मोटरसाईकल समेत अड्किएर बसेको छ । अब केही दिनमा सबै बिषय समाधान हुन्छ ।’ रामसारका एक प्रतिनिधिले खेलपाटीसंग भने ।