काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिवको रुपमा चार वर्ष बिताएका केशव कुमार विष्ट अहिले फुर्सदमा छन् ।
घरेलु खेलकुदको सर्वोच्च निकायको नेतृत्व सम्हाले देखि उनले सुस्ताउने मौका पाएनन् । दैनिकको दौड धुप, उद्घाटन, समापन, सम्मान, घोषणा, निरिक्षण, निर्देशन आदी इत्यादीमा व्यस्त रहदा चार वर्ष बितेको उनले पत्तै पनि पाएनन् ।
खेलकुदलाई स्वर्ण युग बनाउने उद्घोष सहित राखेपमा ‘ईन्ट्री’ गरेका उनको कार्यकाल समग्रमा मिश्रित रह्यो ।
घरेलु खेलकुदले विष्टलाई सम्झिरहने एउटा जवरजस्त कारण छ । चार वर्षे कार्यकालमा उनले दुई वटा राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित आयोजना गरेर देखाईदिए ।
विष्टलाई आलोचना गर्नेहरु भन्छन्, उनले राखेपलाई भद्रगोल अवस्थामा चलाए । कुनै थिती बसाल्ने कोशिशनै गरेनन् । तर, वाकपटुतामा निपुर्ण विष्टले निकै रवाफका साथ राखेपमा आफ्नो चार वर्ष बिताए, यसमा कुनै शंका छैन ।
राखेपमा विष्टको आगमन केही विवादीत बन्यो । तत्कालिन एमाले निकट खेलकुद महासंघको सह–संयोजक भएपनि खेलकुद व्यवस्थापनमा उनी नयाँ थिए । सुरुवाती वर्ष निकै आलोचना व्यहोरेका उनले अन्तिम वर्षमा भने निकै तारिफ कमाए ।
खेलकुद मन्त्रालय र परिषद्कै जिम्मेवार नेतृत्व असहयोगी बन्दा समेत उनले एक्लो प्रयासमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गराएर देखाईदिए । परिषद्को सदस्य सचिवमा उनले दोहरिने तिव्र ईच्छा समेत देखाएका थिए । तर, उनी त्यसमा सफल हुन भने सकेनन् ।
सदस्य सचिवको रुपमा चार वर्ष बिताएका विष्टले अब के गर्लान् ? आफ्नो कार्यकाललाई उनले कसरी मुल्याङ्कन गर्छन् ? राखेप र खेलकुदभित्र एउटा सदस्य सचिवको रुपमा उनले देखेको बेतिथी र सम्भावना के हो ?
यिनै बिषयमा खेलपाटी टिमले राखेपको निवर्तमान सदस्य सचिव विष्टसंग कुराकानी गरेको छ । त्यसको सम्पादित अंश प्रस्तुत गरेका छौ ।
सदस्य सचिवपछि अब के गर्ने सोच्नुभएको छ ?
मेरो पृष्ठभुमी राजनीतिक हो । मैले सोही प्रकृतिको जिम्मेवारी निर्वाह गरेको छु । भविष्यमा पनि त्यहीं प्रकृतिका जिम्मेवारी नै निर्वाह गर्नुपर्ने हुन्छ । पार्टीले के जिम्मेवारी दिन्छ, त्यसमै मेरो कर्म निर्भर छ ।
आजसम्मको क्षमता, योग्यता, काम गराई, इमानदारिता र योगदानलाई हेरेर जे जिम्मेवारी दिन्छ, त्यहीं जिम्मेवारी मैले निर्वाह गर्ने हो । तर त्यो जिम्मेवारी सामाजिक र राजनीतिक नै हुन्छ । सरकारले दिने जिम्मेवारी मेरो योग्यता, क्षमता र अनुभवसँग मिल्ने खालको हुन्छ । त्यही जिम्मेवारी मैले बहन गर्नुपर्छ । मेरो विचारमा त्यो जिम्मेवारी चाँडै प्राप्त हुन्छ ।
सदस्य सचिवपछि तपाईले बनाउनु भएका योजना के के छन् ?
म खेलकुदको वातावरणभन्दा बाहिर हुन्न । किनभने मैले २२–२३ वर्षदेखि निरन्तर खेलकुदसंग जोडिएको छु । राजनीतिक, सांगठनिक जिम्मेवारीसँग खेलकुदमा कुनै न कुनै हिसाबले जोडिएको छु । त्यस कारण म खेलकुदभन्दा बाहिर हुन्न । तर अब प्रत्यक्ष सरकारी कामकाजमै हुन्छु कि राजनीतिक वा सांगठनिक जिम्मेवारीमा हुन्छु भन्ने बिषय केही समयपछि थाहा हुन्छ । तर म खाली बस्दिन । मेरो स्वभाव नै सानैबाट क्रियाशिल हुने खालको हुँ । केही दिनको विश्रामपछि म चाँडै सक्रिय हुन्छु । तर खेलकुद र राजनीतिभन्दा बाहिर हुन्न ।
खासमा नेपालमा साग गेम्स आयोजना हुदैछ । यो संग मेरो भावनात्मक सम्बन्ध छ । मेरो कर्तव्य पनि हो । त्यसमा कुनैपनि प्रकारले सहयोग गर्न सकारात्मक नै हुन्छु । अब त्यो संस्थागत हुन्छ वा व्यक्तिगत निश्चित छैन । खेलकुदको जिम्मेवारी व्यक्तिको हिसाबले सागलाई सफल बनाउनु मेरो प्रतिज्ञा र दायित्व हुन आउछ ।
अब खेलकुदको राजनीतिमै सक्रिय हुने सम्भावना कति छ ?
त्यो समयले बनाउँछ । खासमा हाम्रो सांगठनिक जीवनमा हामी पार्टी नेतृत्वको निर्देशनमा चल्छौ । जे जिम्मेवारी पाउछौ, त्यही बहन गछौं । त्यस क्रममा खेलकुदको अङ्ग भएकाले खेलकुदकै जिम्मेवारीमा रहन बढी उपयुक्त होला ।
त्यो भन्दा बाहिर जनप्रतिनिधि, पार्टी संगठन, कुनै क्षेत्रलाई हेर्ने जिम्मेवारी प्राप्त भयो भने त्यो पनि स्वीकार गर्नुपर्ने हुन्छ । यो देश र समाजलाई समृद्विमा लैजान मेरो प्रत्यक्ष अप्रत्यक्ष जिम्मेवारीपुर्ण काम रहन्छ ।
मेरो प्रश्न, तपाई पार्टी राजनीति वा खेलकुदको राजनीतिमा बढी सक्रिय रहनुहुन्छ ?
रुचिभन्दा पनि खेलकुदमा जोडिएर राजनीतिक जिम्मेवारी पुरा गर्न आएजस्तो लाग्छ । मेरो भुगोल पनि राम्रै छ । जहाँ राजनीतिक पृष्ठभूमि छ, त्यहाँ राम्रै हैसियत छ । म स्थापित कार्यकर्ता हो, सफल कार्यकर्ता हो ।
सोही कारण धेरैले आफ्नै ठाउँमा आएर राजनीति गर्नुपर्छ भनेर अनुरोध गरेका छन् । स्थानीय नेताले फर्कन आग्रह गर्नुहुन्छ । तर साग गेम्ससम्म काठमाण्डौंमा बसेर साथीहरुलाई सहयोग गरौ भन्ने लागेको छ । सोही कारण सागसम्म काठमाडौंमै केन्द्रित हुन्छु । त्यसपछि अरु कुराको टुङ्गो लाग्छ ।
धेरैको अनुमान साग अगाडी हुने नेपाल ओलम्पिक कमिटीको निर्वाचन तपाईको समेत प्रवेश हुन्छ भनेर आँकलन गरेका छन् । के तपाई राखेपपछि ओलम्पिक कमिटिमा प्रवेश गर्दै हुनुहुन्छ ?
त्यो ओलम्पिकमा रहेको साथीले महसुस गर्ने कुरा हो । मेरो एउटा बानी छ, खोजी नहिड्ने । प्राप्त जिम्मेवारी परिस्थिती र आवश्यकता अनि निर्वाचनबाट जितेर पाएको छु । जिवनमा जति चुनाव लडेको छु, अरुभन्दा धेरै भोट पाएको छु । साथीहरुले महसुस गरेमा, आवश्यकता ठानेमा हुन्छ । तर मलाई लैजानुपर्छ भनेर मैले भनेको छैन ।
तपाई उसु संघको नेतृत्वमा हुनुहुन्छ । प्रतिनिधिका हिसाबमा आम मानिसको आँकलन अस्वभाविक पनि हैन होला ?
रहरले कुनै फिल्डमा जाने हैन । साथीहरुलाई आवश्यकता महसुस गरेमा, म जादाँ सहयोग पुग्ने भएमा वा आवश्यकताले मलाई लैजाने हो । त्यसका लागि मसंग कुरा भएको छैन । तर सम्भावना हुन्छ । खेलकुदमै काम गर्ने भएपछि जान नहुने भन्ने त भएन । तर जानै पर्छ भन्ने पनि छैन । आवश्यकताले मागेमा वा साथीहरुले अपिल गरेमा त्यो सम्भव छ । तर अहिले मनस्थिती छैन ।
तपाईको चार वर्षे कार्यकालमा नियुक्तीनै विवादमा पर्यो । तपाईकै कारण तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पदकै गुमाउने स्थिती आयो । यसलाई कसरी लिनुहुन्छ ?
पुरुषोत्तम पौडेल भनेको एउटा स्थापित नेता हो । राजनीतिमा यस्ता घटना घट्छन् भन्ने थाहा छ । राजनीति निर्मम हुन्छ, राजनीति पेचिलो हुन्छ । राजनीतिभित्र यस्ता घटना हुन्छन् भन्ने कुरा उहाँले बुझ्नु भएको छ । मैले समेत बुझेको छु ।
हाम्रो जस्तो देशमा राजनीति चरित्रको विकास भैसकेको छैन । इमान्दारिता र स्पष्टता छानिसकेको छैन । एउटा परिवेशमा यस्ता घटना घट्छन् । त्यसलाई उहाँले अनुशरण गर्नुभएको छ र मैले पनि गरेको छु ।
उहाँले मलाई सदस्यसचिव नियुक्त गरेर गलत गर्नुभयो भनेर पुष्टि त भएको छैन । उहाँले गर्नुभएको निर्णय गलत भएन । मैले पनि नेपाली खेलकुदमा जे गर्न सकिन्थ्यो, त्यो गरेको छु । म उहाँप्रति अनुग्रही छु । मैले गर्दा उहाँले त्याग गर्नुपर्ने अवस्था आयो । मेरो जीवनमा यो कुरा सम्मानित भएर रहन्छ ।
तर राजनीतिमा हरेस खानु हुँदैन । समयको पर्खाइमा समयसँग घुल्दै जानुपर्छ । र मलाई लाग्छ, उहाँलाई हिनताबोध हुनुपर्ने अवस्था सृजना गरेको छैन । उहाँलाई गौरव हुने कुरा गरेको छु । जसलाई ल्याए, सक्दो कोशिश गरेको छ, ईमान्दार काम गरेको छ भन्ने कुराले उहाँलाई सन्तुष्ट गरेको छ ।
आफ्नो चार बर्षे कार्यकालमा सबैभन्दा आनन्द अनुभव गरेको क्षण के हो ?
सबैभन्दा खुशीको क्षण भनेको साग फुटबलमा भारतलाई हराएर नेपालले स्वर्ण जितेको क्षणनै हो । खुशीले आँशु आएको क्षण भनेको फुटबलमा अन्तिम समयमा गोल हानेर आएको स्वर्ण पदककै हो ।
सबैभन्दा दुखको क्षण ?
सबैभन्दा दुखको क्षण भनेको क्यान निलम्बन हुँदा हो । नचाहँदा नचाहँदै परिस्थितीले क्यान मेरो कार्यकालमा निलम्बन हुन पुग्यो । त्यो घटनाले आजसम्म दुख लाग्छ ।
आफ्नो कारण क्यान निलम्बनमा पुग्यो भन्ने कत्तिको महसुश हुन्छ ?
क्यान निलम्बन हुनुमा मेरो कुनै गल्ती कमीकमजोरी केही छैन । जे हुनुपर्ने थियो, त्यही भएको हो । यसमा मेरो कमी कमजोरी छैन । घटनाक्रम बुझ्नेलाई राम्रोसँग थाहा छ, क्यानका तत्कालिन अध्यक्ष सहित बहुसदस्य आएर साधारण सभा अवैधानिक छ, यसमा सहमत छैनौ भनेर निवेदन दिएका छन् । यसमा मलाई कुनै हिनताबोध छैन । तर मेरो समयमा हुदाँ दुख लाग्छ ।
क्यान निलम्बनको घटनाले कत्तिको पिरोल्छ ?
मेरो कार्यकालमा निलम्बन फुकुवा गर्छु भन्ने लागेको थियो । सायद हुन्थ्यो पनि होला । अस्ति आईसीसीको बैठक समेत बस्यो । सबै रिपोर्ट सकारात्मक गएको भए निकास निस्कन सक्थ्यो । तर सबै घटनाक्रम थाहा छ, तर म दोषी छैन । तर फलानोले गर्दा भयो भनेर आक्षेप आउँदा दुख लाग्छ ।
सदस्य सचिवमा रुपमा आउँदा खेलकुदलाई स्वर्णकाल बनाउने उद्घोष सहित आउनु भएको थियो । आफ्नो कार्यकालको समिक्षा कसरी गर्नुहुन्छ ?
आफ्नो कार्यकालको आफैले मूल्याङ्कन गर्दा सान्दर्भिक नहोला । तर म सन्तुष्ट छु । म मात्र हैन, मिडिया, खेलकुदका व्यक्तित्व, कर्मचारी सबैको कुरा सुन्दा सदस्य सचिवले स्वर्णकाल भन्ने कुरा पुष्टि गरेर जानुभयो भन्नु भनेका छन् । स्वर्णकाललाई प्रमाणित गरेर, खेलकुदलाई शान्त बनाएर, एकताबद्ध बनाएर, सबैको विश्वास जितेर, सबैको हृदयमा बसेर, माया लगाएर जानुभयो भनेर भनेका छन् ।
अहिलेपनि दिनमै २–४ जना साथीहरु भेट्न आउनुहुन्छ । कलहरु आउँछ । के गर्दै, कसो गर्दै हुनुहुन्छ ? तपाई जस्तो सदस्य सचिवको अभाव हुने भयो, हाम्रो अभिभावक नहुने भो, हाम्रो कुरा कसले सुनिदिने भनेर चिन्ता लागेको छ भन्नु हुन्छ ।
विगतमा सर्वसाधारणले भेट्न नपाउने, अन्यायमा परेकाले बोल्न नपाउने, आफ्नो कुरा राख्न नपाउने भन्ने हुदो रहेछ । सदस्यसचिव ५–७ जना मान्छेको घेराभित्र रहेर काम गर्ने प्रचलन थियो । मैले व्यक्तिगत रुपमा सदस्य सचिवसँग भेट्न सहज बनाइदिए । सबैले भेट्न पाउने, सबैले कुरा राख्न पाउने, सबैले आफ्नो अन्याय पोख्न पाउने, सबैले मनमा लागेको कुरा भन्न पाउने जुन शैली अपनाए, त्यसले गर्दा खेलकुद भित्रको अन्तरविरोधको समाधान भयो । द्वन्दको व्यवस्थापन भएको छ । अप्रिय खालका घटना, आन्दोलन, तालाबन्दी, धर्नाजस्ता कुराहरु भएन ।
खासमा स्वर्णकाल भन्नाले सबैलाई समेटेर जानु, खेलकुद गतिविधि धेरै हुनु, खेलाडीहरुले सुविधा पाउनु नै हो । यी सबै कार्यकालमा भएको हुनाले सबैले तपाइको कार्यकाल स्वर्णकाल भन्छन्, त्यसमा मलाई खुशी लाग्छ ।
तपाईको कार्यकालको समिक्षा गर्ने धेरैले सिस्टममा राखेप चलाउन सक्नु भएन भनेर टिप्पणी गर्ने गर्छन् नि ?
टिप्पणी गर्ने हिजो पनि हुन्थे । मसँग यो भएन वा यो हुन पर्दथ्यो, यसो गर्दा राम्रो हुन्छ भनेर कहिल्यै भन्नु भएन । हाम्रो कामका क्षेत्र हुन्छन् । म च्यालेन्ज नै गर्छु, विगतमा मेरो जस्तो काम कहिले भएको थियो ? मैले गर्नसक्ने सबै थोक गरे, केही बाँकी रहेन भनेको हैन ।
हिजोभन्दा कोसिस गरियो, राम्रो गरियो, अझै गर्न बाँकी धेरै चिज छ । मैले स्पोर्ट्स युनिभर्सिटीको कुरा गरेको थिए । अरु देशमा त्यो डेढ सय वर्ष अगाडी नै स्थापना भईसकेको रहेछ । स्पोर्ट्स युनिभर्सिटी स्थापना गरेर धेरै दक्ष जनशक्ती स्थापना गर्ने हो । त्यहाँ तालिम गर्ने, विज्ञता हासिल गर्ने, मान्छेलाई आधिकारिक सर्टिफिकेट दिने हो । अन्तराष्ट्रिय बजारमा त्यो बिक्ने हो । त्यो काम गर्न पाइएन, गर्न सकिएन ।
कर्मचारी बढुवा प्रकृयाको काम ९० प्रतिशत गरेर आएको छु । त्यो स्थायी प्रकृया जादैछ ।
कतिपय काम अरुले भनेर, सुझाव दिएर हैन, मलाई पनि गर्न मन लागेको थियो । स्पोर्ट्समा समेत संस्थागत हिसाबले विकास गरौ भन्ने लागेको थियो । कतिपय काम मैले नचाहेर हैन, त्यसमा साधन, स्रोत, बजेट, सरकारले निर्णय लिनुपर्ने हुन्छ । चार वर्ष भयो रिसर्च सेन्टरको काम अघि बढेको छैन ।
कतिपय दायरा भन्दा बाहिरको काम गर्न सकिदैन । कतिपय साथीले १० लाख भन्नुभयो, मैले २ लाख दिए होला । तर सबै कुरा शिष्टममै चलेको छ । नेपाल सरकारको आर्थिक नियमावली, निर्णयहरु, सबै कुरा विधिगत रुपमै चलेको छ ।
मेरो विभागको कर्मचारी कसरी चलाउने, शाखा कसरी चलाउने, के दायित्व, के जिम्मेवारी भनेर अहिले मात्र ज्ञान प्राप्त भएको हैन । नयाँ सदस्य सचिव हुँदा केही गर्न खोज्ने, अलि सक्रिय हुने लत हुन्छ । बिस्तारै हेर्दै जाँदा खेलकुदभित्र धेरै अप्ठ्यारा छन् । हाम्रोमा सरुवा भन्ने हुदैन ।
अरु मन्त्रालयतिर नयाँ हाकिम आउछ । नयाँ कर्मचारी आउछन् । त्यो हुनाले अलि सर्तक हुने, सजग हुने हुन्छ । हाम्रोमा बिसौ बर्षदेखि एउटै कर्मचारी छन् । वल्लो कोठा र पल्लो कोठा साट्न बाहेक केही गर्न सकिदैन । राखेप पहिला जसरीनै चलेको छ भन्ने हैन । सबै कागजी प्रक्रिया अनुसारनै चलेको छ । भ्रष्टचारको अन्त्य भएको छ । आर्थिक अनियमितताको अन्त्य भएको छ । पारदर्शी भएको छ । जब तपाई सिमित घेराभित्र काम गर्नुहुन्छ, त्यो पारदर्शी हुदैन ।
आक्षेप, आलोचना महात्मा गान्धीको पनि भएको थियो । जिसस क्राईसको समेत भएको छ । आलोचना जसको समेत हुन्छ । खेलकुदको सम्मान राख्ने मान्छे मेरो कार्यकालमा छन् ।
तपाईले आफ्नो कार्यकालमा राखेपभित्र देखेको ठुलो बेतिथी के हो ?
मैले त्यस्तो बेतिथी देखिन । राखेपकै क्षमता, दक्षतानै हामीले अभिवृद्विकरण गरेका हौ । एउटा प्रशिक्षकले पाउने सुविधा कति हो ? त्यही २५–३० हजार पाउने हो । त्यही मान्छे काठमाण्डौमा डेरा गरेर बस्छ । पहिला महँगी थिएन । घर भाडा सस्तो थियो । अब बच्चालाई पढाउनुपर्छ । हामीले उसलाई राम्रो सुविधानै दिएको छैनौ । उसलाई एउटा राम्रो ट्रायकसुट समेत दिएका छैनौ । उसले २५–३० हजारमा कसरी काम गर्छ ?
उसका बाध्यता बुझ्न पर्यो । उसको दिमाग फ्रेस हुन दिन पर्यो । शरिरमा स्फुर्ती दिन सक्नुपर्यो । तब मात्र उसले एउटै काममा केन्द्रित भएर काम गर्न सक्छ । खाली गरेर मात्र हुदैन । उनीहरुलाई माया, स्नेह गरेर दिन सक्ने खालको सुविधा मैले दिए । सदस्यसचिव घेराभित्र बस्नुपर्ने, काम गर्नु पर्ने, अरुले भेट्न नपाउने, अरुले बोल्न नपाउने परम्परा तोडेको हुँ ।
सदस्य सचिवमा रहदाँ प्रधानमन्त्री तथा पार्टी अध्यक्षसंग खासै राम्रो सम्बन्ध भएन । काम गर्न कत्तिको असहज महसुस भयो ?
म असहज महसुस गर्दिन । किनभने म अनौपचारिक सम्बन्धमा विश्वास गर्दिन । औपचारीक सम्बन्ध सबैसंग हुन्छ । भावनात्मक सम्बन्ध भनेको बिचार मिल्नेसंग, संयोगबस उठबस हुनेसंग मात्र हुने हो ।
तर पार्टी अध्यक्षले तपाईलाई पुरै वेवास्ता गरेको महसुस तपाईले कत्तिको गर्नुभयो ?
अनौपचारिक सम्बन्ध मैले उहाँसंग राख्ने कोसिस गरिन होला, उहाँले पनि चाहानु भएन होला । त्यो आवश्यक पनि हैन । औपचारिक सम्बन्धमा उहाँले राम्रो व्यहारनै गर्नुभएको छ । भेटघाटमा निकै सद्भावका साथ कुरा गर्नुहुन्छ । मैले कतैबाट त्यस्तो महसुस गरिन् । किनभने मेरो काम गराईमा खोट छैन । अहोरात्र काम गरे, कामको राम्रो नतिजा आएको छ । उहाँलाई भन्न मन लाग्यो पनि होला, नलागेको पनि होला तर उहाँको हाउभाउले केशव विष्टले राम्रो काम गरेको छ भन्ने परेको छ ।
मैले व्यक्तिगत रुपमा कसैलाई खुसी पार्ने कोसिस गरिन् । म त्यो कुरामा विश्वास गर्दिन । मेरो स्वभावनै फरक छ । मेरो विश्वास भनेको सत्य र ईमान्दारिता भए सत्यको जित हुन्छ भन्ने हो । मलाई जिम्मेवारीको जस्तै पार्टीलाई नि ईमान्दार मान्छेको खाँचो हुन्छ । आवश्यकता परेको अवस्थामा मेरो खोजी हुन्छ ।
आठौं सम्पन्न गरेपछि साग आयोजनामा तिव्र ईच्छा देखाउनुभयो । कत्तिको खिन्नता महसुस गर्नुहुन्छ ?
आठौ राष्ट्रिय खेलकुदमा अलि जोखिम नमोलेको भए, अलि कडा परिश्रम नगरेको भए सम्भव थिएन । केही महिना हैन, केही वर्षनै लम्बिने थियो । जुन मितिमा सम्पन्न गरियो, त्यो अन्तिम समय थियो । मेरै कार्यकालमा गरौ भन्दा पनि प्रत्येक दुई बर्षमा राष्ट्रिय प्रतियोगिता आयोजना हुने थिती बसाल्न कोसिस गरिएको थियो । सफल समेत भयो । यसमा भएका प्रत्यक्ष सहयोग, असहयोग आफ्नो ठाउँमा छ ।
मान्छेको आफ्नो स्वभाब हुन्छ, साग पनि मेरै पालामा गरौ भन्ने लागेको हो । सागका लागि मैले धेरै मेहनत गरेको छु । मसंग अहिले पनि त्यसको पुरै रोडम्याप छ । कुन दिने के गर्ने भन्ने सबै क्लियर छ । स–साना कुरा याद गरेर बसेको छु । अहिले समेत घरमै बसेर सबै जानकारी राखेको छु । साग सफलता पुर्वक गर्न पाए भन्ने हुने थियो । तर परिस्थिती बनेन । तर साग समयमै आयोजना गर्न पर्छ ।
ईन्डोनेसियामा भएको एसियन गेम्समा धेरै पदकको दाबी गर्नुभएको थियो । तर दाबी गरे जस्तो नतिजा आएन । आज आएर हेर्दा कहाँ कमजोरी देख्नु हुन्छ ?
अभाब त बजेटको भयो । अझैपनि साग आयोजना हुदैछ । तर बजेट अहिलेसम्म आएको छैन । यही अवस्था पटक पटक दोहरिन्छ । सबै भन्दा बढी कमजोरी बजेटमा छ । जस्तो बजेट माग गरिन्छ, सोही अनुसारको बजेट नआएपछि काम सम्पन्न गर्न समस्या पर्छ । पहिलो ईच्छा शक्तिले अन्तराष्ट्रिय प्रतियोगितामा जित हासिल गर्न सकिन्थ्यो । तर अब खेलकुद प्रविधियुक्त बनेको छ । बिज्ञान, प्रविधिको युगमा खेलकुद पुगेको छ । अब हामीले चाहेको जस्तो पदक ल्याउन सम्भव छैन । त्यसका लागि बिज्ञता, प्रविधि, बजेट र श्रोत साधन आवश्यक पर्छ ।
हामी तयारी गछौ तर हामी भन्दा राम्रो तयारी अरु देशले गर्छ । हामी नराम्रो अथवा खेल र खेलाडीको स्तर खस्किएको हैन । तर अरुले प्रगति गरेको हो । एसियन गेम्सको नतिजा अनुसार हामी दोस्रो स्थानमा रह्यौ । प्याराग्याईडिङमै किन नहोस हामीले २०÷२५ बर्षपछि रजत ल्याएका छौ । व्यवसायीक रुपमा खेलिने प्याराग्लाईडिङलाई मैलेनै खेलकुदमा विकास गर्न सकिन्छ भनेर सम्भावना देखेर ल्याएको हुँ । धेरैले चिठ्ठामा पदक आयो भन्छन् । तर त्यसमा लगानी गरेर मात्र पदक आएको हो ।
अन्तिममा,
मेरो कार्यकाललाई सफल बनाउन हरेक क्षेत्रमा सहयोग गर्ने प्रति अनुग्रही छु ।