काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को आसन्न निर्वाचनमा जीवनराम श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनओसीका वर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा दोहरिने बताएका हुन् ।
‘फेरी पनि अध्यक्षका लागि अघि बढ्ने हो ।’ श्रेष्ठले खेलपाटीसंग भने, ‘फेरी एक पटक अध्यक्ष हुने हो ।’
एनओसीको नयाँ नेतृत्वका लागि सेप्टेम्बर ६ मा निर्वाचन हुदैछ । सोमबार बसेको एनओसीको बोर्ड बैठकले सेप्टेम्बरको पहिलो साता नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको थियो ।
‘विधानले दुई कार्यकालको व्यवस्था गरेको छ । त्यही अनुसार एक कार्यकाल अध्यक्ष बन्छु ।’ उनले भने ।
श्रेष्ठ २०७२ साल भदौ १७ गते पहिलो पटक एनओसीको अध्यक्षमा निर्वाचित भएका थिए । एनओसी अध्यक्षको रुपमा चार बर्ष बिताएका उनले फेरी नेतृत्वमा दोहरिने बताएका हुन् ।
एनओसीको विधानमा एक ब्यक्ति दुई पटक सम्म नेतृत्वमा दोहरिन सक्ने व्यवस्था छ । श्रेष्ठले सोही अनुसार नयाँ नेतृत्वमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘ओलम्पिक आन्दोलनमा निकै धेरै उतार चढावका बीच खेलकुद व्यवस्थित र विकास गर्न नेतृत्व गर्दै आएको हिसाबले उम्मेदवारी दिन उपयुक्त ठानेको छु ।’ उनले भने ।
२०५३ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव भएका श्रेष्ठले दुई पटक राखेपको नेतृत्व गरेका थिए । लगत्तै ओलम्पिक कमिटिको राजनीतिसंग जोडिएका उनले दुई पटक महासचिवको रुपमा काम गरेका थिए ।