काठमाडौं । संसदीय समितिले आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अनुगमन गर्न संसदीय उपसमिति गठन गरेको छ ।
आईतबार बिहान बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सागको अनुगमन तथा निरिक्षण गर्न सांसद जिवनराम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा श्रेष्ठ सहित नबिना लामा, नारायण मरासिनी, नमिता चौधरी र गजेनद्र महत रहेका छन् ।
सागको समग्र तयारी र कार्य क्षेत्रमा भएका कमीकमजोरीको निरिक्षण र निर्देशन दिन उपसमिति गठन गरेको सांसद जिवनराम श्रेष्ठले खेलपाटीलाई बताए ।
‘सागको तयारीका बिषयमा कामको अनुगमन गर्न उपसमिति गठन गरिएको हो ।’ श्रेष्ठले भने ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत रहेका श्रेष्ठ शिक्षा तथा स्वास्थ्य समितिको सदस्य हुन् ।
श्रेष्ठ संयोजकत्वको उपसमितिले प्रतियोगिता समापन नभएसम्मका लागि सागको निरिक्षण गर्ने कार्यादेश दिईएको समिति सभापति जयपुरी घर्तिको सचिवालयले जनाएको छ ।