काठमाडौं । महिला हिंसाबाट पिडित बालबालिका तथा कैदी जिवन बिताईरहेका अभिभावकका बच्चालाई लक्षित गरेर नेपाल तेक्वान्दो संघले विशेष तालिम दिने भएको छ ।
विश्व तेक्वान्दो संघको सहयोगमा नेपाल तेक्वान्दो संघले महिला हिंसाबाट पिडित बालबालिकालाई विशेष प्रशिक्षण दिने भएको हो ।
शनिबार सातदोबाटोस्थित तेक्वान्दो भवनमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा र विश्व तेक्वान्दो संघका अध्यक्ष चुङवन चोयले सो कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
महिला सशक्तिकरणसंग जोडेर सञ्चालन गर्न लागिएको कार्यक्रम एक बर्षको रहने तेक्वान्दो संघका सदस्य तथा कार्यक्रम निर्देशक हेमन्त डांगीले बताए ।
तेक्वान्दो संघले प्रारम्भिक रुपमा ६ वटा सामाजिक संघ संस्थासंग मिलेर कार्यक्रम सञ्चालन गर्नेछ ।
सुरुवातको बर्षमा माईती नेपाल, रक्षा नेपाल, आशा नेपाल, पिए (पिजनर एसोसियसन), एसिडिसी, जेनेसस एकेडेमी र अर्ली चाइल्ड केयर्स डेभलोप्मेन्टसंग मिलेर संघले कार्यक्रम गर्नेछ ।
२०७२ सालमा गएको भुकम्पको समयमा पनि विश्व तेक्वान्दो महासंघले नेपालमा कार्यक्रम गरेको थियो । सिन्धुपाल्चोकमा भएको कार्यक्रम सफल भएपछि महासंघले यस बर्ष नेपालसंग मिलेर पुन नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रममा लाग्ने सम्पूर्ण बजेट विश्व तेक्वान्दो महासंघले नै ब्यहोर्नेछ । खेलाडी पोसाक, खर्च लगायत प्रशिक्षकको खर्च पनि महासंघले ब्यहोर्ने नेपाल तेक्वान्दो संघले जनाएको हो । कार्यक्रममा २ सय ६० खेलाडी र ७ प्रशिक्षक रहनेछन् । जसमा ९५ प्रतिशत महिलाको संख्या रहेको छ ।
तेक्वान्दो खेलको माध्यमबाट उनीहरुलाई समाजको मुलधारमा ल्याउने र आत्माविश्वास दिलाउने योजनाका साथ कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ ।