काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको लनटेनिसको हार्ड कोर्ट प्रयोगमा आएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको टेनिस कोर्ट सोमबारबाट प्रयोगमा आएको हो ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा रहेको पुरानो ६ क्ले कोर्टलाई विस्थापित गरी त्यत्ति नै हार्ड कोर्ट बनाइएको छ । छेउमै थप २ वटा सफ्टटेनिसका लागि पनि हार्ड कोर्ट बनाइएको छ ।
नयाँ हार्ड कोर्टमा खेलाडीहरुले सोमबारबाट प्रशिक्षण समेत सुरु गरेका छन् । सोमबार सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले नयाँ कोर्टमा प्रशिक्षण गरेका थिए ।
यसअघि नेपाली टिमले त्रिपुरेश्वरस्थित राखेपको क्ले कोटमा अभ्यास गर्दै आईरहेको थियो ।
नेपाली टोलीले सागको लागि १ महिना अघि बाटै तयारी सुरु गरेको तर पहिलो पटक हार्ड कोर्टमा प्रशिक्षण गर्न पाएको प्रशिक्षक सुर्य भुषण बज्राचार्यले खेलपाटीलाई जानकारी गराए ।
‘हामीले एक महिना यता तयारी गर्दै आईरहेका छौं । पहिलो पटक हार्ड कोटमा सुरु गरिरहेका छौं । ’ उनले खेलपाटीसँग भने ।
सागको लागि बन्द प्रशिक्षणमा पुरुष र महिला गरि १९ खेलाडी रहेका छन् । प्रारम्भिक चरणमा स्वर्ण विजेता महिला र पुरुषको सामान ३–३ खेलाडी बन्द प्रशिक्षणमा राखिएपनि अहिले पदक विजेता १९ खेलाडीलाई नै प्रशिक्षणमा सामेल गरिएको छ ।
हार्ड कोटको सुरुवाती प्रशिक्षणमा भने ७ खेलाडी मात्रै उपस्थित भएका थिए । सोमबार प्रणव खनाल, सम्यक भुषण बज्राचार्य, प्रेरणा कोइराला, अभिलाशा विष्ट, रायना शाह, सलोनी तामाङ र प्रकृति श्रेष्ठ प्रशिक्षणमा रहेका थिए ।
पहिलो दिनको तयारी पछि प्रेरणा कोइरालाले नेपालमा पनि हार्ड कोर्टमा खेल्न पाउँदा निकै खुसी लागेको बताईन् ।
‘नेपालमा हार्ड कोर्टमा पहिलो पटक खेल्ने अवसर पाए । धेरै खुसी छु ।’ उनले भनिन् । उनले विदेशको प्रतियोगिता खेल्दा हार्ड कोर्टमा खेल्न पर्ने र नेपालमा क्ले कोर्टमा तयारी गर्दा प्रदर्शनमा निकै गिरावट आउने गरेको समेत बताईन् ।
‘नेपालमा क्ले कोर्टमा तयारी हुन्थ्यो । बाहिर प्रतियोगिता क्ले कोर्टमा खेल्न पर्ने । त्यसैले धेरै गाह्रो हुन्थ्यो । हार्ड कोर्ट हामीलाई धेरै जरुरी छ,' कोइरालाले भनिन् ।
टेनिस संघको बन्द प्रशिक्षणमा पुरुषतर्फ संरक्षण भुषाल बज्राचार्य, प्रणव खनाल, जितेन्द्र परियार, सन्तोष खत्री, भिष्म काउचा, सम्यक भुषण बज्राचार्य, प्रदिप खड्का, नविन मगर र आइभन लिसानोभिच रहेका छन् ।
यस्तै महिलातर्फ प्रेरणा कोइराला, अभिलाशा विष्ट, रायना शाह, सलोनी तामाङ, आइरा रावत, ऐनी माथेमा, प्रकृति श्रेष्ठ, श्रेया भट्टराई, गंगा शर्मा र अस्लेषा लिसानोभिच रहेका छन् ।