काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले जागिर खान मात्र राखेपमा नआएको बताएका छन् ।
घरेलु खेलकुदको सर्वोच्च कार्यकारी निकाय राखेपको सदस्य सचिवमा नियुक्त भए लगत्तै सिलवालले खेलकुदमा केही परिवर्तन गर्ने दृढ संकल्प सहित नयाँ जिम्मेवारीमा आएको बताएका हुन् ।
‘कुनै आग्रह पुर्वाग्रह राखेर काम गर्ने छैन । सबैको सल्लाह लिनेछु । निर्णय आफुले गर्नेछु ।’ शपथ लगत्तै उनले भने ।
‘धेरै बोल्नु र उत्तर दिन आवश्यक छैन । सबै प्रश्नको जवाफ एक्सन (काम)बाट दिनेछु ।’ उनले भने ।
पुराना सदस्य सचिव भन्दा फरक ढङ्गले आफु अघि बढ्ने संकेत गर्दै सिलवालले पदक वितरण र औपचारिक कार्यक्रममा नबोलाउन खेल क्षेत्रलाई एक मुष्ट आग्रह गरे ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आयोजना गर्नु आफ्नो पहिलो कार्यभार रहेको उल्लेख गर्दै उनले हरेक दिन तालिका बनाएर काम अघि बढाउने प्रतिबद्वता जनाए ।
‘आफ्नो हनिमुन पिरियडमै नतिजा निकाल्ने गरि काम गर्ने प्रतिबद्वता जनाउछु ।’ उनले भने ।
स्वच्छ र पारदर्शी प्रशासन सहित विधि सम्मत तरिकाले राखेप चलाउने सिलवालको प्रतिबद्वता छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेर राखेपको जिम्मेवारी दिएको बताउँदै उनले सफल नतिजा निकाल्ने विश्वास दिलाए ।
लगत्तै उनी राखेपको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा पुगेर पदबहाली गरेका थिए ।
पदबहाली लगत्तै राखेप कर्मचारी र संघका प्रतिनिधिलाई सम्बोध गर्दै उनले स्वच्छ प्रशासन सञ्चालन गर्ने उल्लेख गर्दै योग्यताका आधारमा कर्मचारीको मुल्याङ्कन गर्ने प्रतिबद्वता जनाए ।
उनले राम्रा कुरालाई अनुसरण गर्दै नेपालको प्रतिष्ठा अन्तराष्ट्रिय जगतमा उच्च राख्ने गरि काम गर्ने बताएका थिए ।