काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् ।
सत्तारुढ दल नेकपाले घरेलु खेलकुदको कार्यकारी निकाय राखेपको चार बर्षे नेतृत्वमा सिलवाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर सिलवाललाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । त्यसअघि मन्त्री विश्वकर्माले नेपाल भलिबल संघको प्रतिनिधिको रुपमा सिलवाललाई बोर्ड सदस्यमा मनोनित गरेका थिए ।
नीजि कलेज गोल्डेनगेट सञ्चालन गर्दै आएका सिलवाल कुनैपनि संघमा आबद्व थिएनन् ।
सिलवाललाई सरकारले यसअघि नेपाल क्रिकेट संघ क्यानको तदर्थ कमिटिको संयोजकको जिम्मेवारी दिएको थियो । तर अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानमा राजनीतिक हस्तक्षर र अपरादर्शी निर्वाचनको कारण देखाउँदै निलम्बन गरेको थियो ।
सत्तारुढ दल नेकपा तथा तत्कालिन एमालेको भातृ संगठन युवा संघको उपाध्यक्ष समेत रहेका सिलवालले मदन भण्डारी स्पोर्ट्स फाउण्डेशन स्थापना गरेर खेलकुद गतिविधि सञ्चालन गर्दै आएका थिए ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीसंग निकट रहेर काम गर्दै आएका सिलवाललाई वर्तमान सरकारले नेपाली खेलकुद हाँक्ने जिम्मेवारी दिएको हो ।