काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालको सपथ ग्रहण भोली (सोमबार) हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा नयाँ सदस्य सचिवको रुपमा सिलवाललाई शपथ ग्रहण गराउन लागिएको हो ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नयाँ सदस्य सदस्यको रुपमा सिलवाललाई पद तथा गोपनियताको शपथ खुवाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए ।
नीजि कलेज सञ्चालकको रुपमा ख्याती कमाएका सिलवाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष हुन् ।
उनी सत्तारुढ दल नेकपा निकट खेलकुद संस्था मदन भण्डारी स्पोर्ट्स फाउण्डेशनका संस्थापन अध्यक्ष हुन् ।
भलिबल संघको सिफारिस
नेपाल भलिबल संघले शिलवाललाई सदस्यको रुपमा राखेपको बोर्डमा सिफारिस गर्ने भएको छ ।
राखेपको बोर्ड सदस्यमा विश्व विद्यालय र संघ संस्थाबाट मात्र मनोनित गर्न कोटा बाँकी रहेको अवस्थामा सिलवाललाई भलिबल संघले सदस्यको रुपमा सिफारिस गर्न लागेको हो ।
संघको सिफारिसमा खेलकुद मन्त्रीले राखेपकाे बोर्ड सदस्यमा सिलवाललाई मनोनयन गरि सदस्य सचिवको शपथ खुवाउनेछन् ।
खेलकुद मन्त्रीले शपथ खुलाए लगत्तै बेलुका बस्ने मन्त्री परिषद् बैठकले सिलवालकाे शपथकाे अनुमाेदन गर्नेछ ।