एजेन्सी । रुस विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति दुई युरोपियन राष्ट्र क्रोएसिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ ।
लुजिनिकी रंगशालामा मैदान उत्रदा दुवै टोलीको लक्ष्य फाइनलमा पुग्नु हुनेछ । बिजेताले फाइनलमा फ्रान्ससंग खेल्ने छ । प्रतियोगिताको क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विडेन र क्रोएसियाले रुसलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
आज हुने दोस्रो सेमिफाइनलमा मुख्य त दुई खेलाडी सबैको नजरमा पर्ने छन् । जुन खेलाडीले आज आफ्नो टिमलाई जित दिलाउन सक्छन् ।
क्रोएसियाका लुका मोड्रिड र इंग्ल्यान्डका ह्यारी केन चर्चामा रहनेछ । दुवै खेलाडी आफ्नो टोलीको कप्तानी सम्हालिरहेका छन् । जारी प्रतियोगितामा दुवै उच्च लयमा रहेका छन् । आजको खेलमा दुई राष्ट्र यी खेलाडीबाट धेरै आशा राखेको छ ।
प्लेयर्स टु वाच -
लुका मोड्रिक (क्रोएसिया)
क्रोएसियाली फुटबलको सेमिफाइनल सम्मको यात्रालाई हेर्ने हो भने यसको श्रेयको ठुलो अंश कप्तान लुका मोड्रिकलाई जान्छ । क्रोएसियालाई विश्वकपको अन्तिम ४ सम्मको यात्रा तय गराउन मोड्रिकले गज्जवको प्रर्दशन गरे ।
मिडफिल्डरको भुमिका निर्वाह गर्दै आएका मोड्रिक बल पोजिसन राख्न र गोल गर्न माहिर छन् । रुसी विश्वकपमा दुई गोल गरेका उनले एक गोलको अवसर सिर्जना गरे ।
समूह चरणमा दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनाविरुद्ध उनले गरेको गोल सबैभन्दा दर्शनिय थियो । ३२ वर्षिय मोड्रिकको रुसी विश्वकप सायद अन्तिम पनि हुन सक्छ । ५ फिट ८ इन्चका मोड्रिक बल नियन्त्रण राख्न, लामा सट प्रहार गर्न, चलाखीपुर्ण पास निकाल्न माहिर छन् ।
ह्यारी केन (इंग्ल्यान्ड)
रुसी विश्वकपको गोल्डेन बुटका दाबेदार हुन्, ह्यारी केन । पहिलो पटक विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरिरहेका केन, इङ्ल्याण्ड फुटबल टिमका कप्तान समेत हुन् । भाग्यनै सहि, केनले आफ्नो कप्तानीमा २८ बर्षपछि इङ्लिस टोलीलाई विश्वकपको सेमिफाईनलसम्म डोराउन सफल भएका छन् ।
उनी चार खेलमा एक ह्याट्रिक सहित ६ गोल गरेर गोल्डेन बुटको उपाधि नजिक छन् । ६ फिट २ इन्च अग्ला २४ वर्षिय केन ब्यवसायीक फुटबलमा भने घरेलु लिग क्लब टोटनह्यामकालगि खेल्छन् । सशक्त प्रहार, बल पोजिसलमा अब्बल, लामा सट प्रहार गर्न माहिर र गोलका लागि अवसर सिर्जना गर्न केन अब्बल छन् ।