एजेन्सी । अफगानिस्तान इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा जितविहीन बन्दै घर फर्किएको छ ।
विश्वकप अन्तर्गत बिहिबार भएको लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानिस्तान अंकविहीन बन्दै घर फर्किएको हो ।
लिड्समा वेष्ट इण्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २८८ रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानका इक्राम अलिखिल र रहमत साहले अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । विश्वकपमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका अलिखिलले ८६ रन बनाए । रहमतले ६२ रन बनाए ।
यस्तै अफगान अस्घरले ४० तथा नाजिबउल्लाह जड्रानले ३१ रन जोडे।
वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ४ तथा केमार रोकले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो ।
वेष्ट इण्डिजका साही होप, इभिन लुइस र निकोलस पुरनले अर्धशतकीय इनिङ्स खेले । होपले सर्वाधिक ७७ रनको इनिङ्स खेले । ९२ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे ।
यस्तै इभिन लुइस र निकोलस पोरनले समान ५८ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जासन होल्डरले ४५ र सिम्रन हिट्मायरले ३९ रनको योगदान गरे ।
अफगानिस्तानका डलट जद्रानले २ तथा मोहमद नाबी, सायद सृजाद र राशिद खानले समान १/१ विकेट हात पारे ।
यो हारसंगै अफगानिस्तानले विश्वकपको सबै ९ खेलमा हार व्यहोरेको छ । र, अफगानिस्तान लिगको पुछारमा रहदै विश्वकप यात्रा अन्त्य गरेको छ ।
योसँगै अफगानिस्तान विश्वकपमा जितविहीन बन्दै घर फर्कने तेस्रो राष्ट्र बनेको छ । यसअघि सन् १९७९ मा भारत र १९८७ मा मा श्रीलंका जितविहीन घर फर्किएका थिए ।
वेष्ट इण्डिजले ९ खेलबाट ५ अंक जोडेर विश्वकप यात्रा अन्त्य गरेको छ । वेष्ट इण्डिज पुछारबाट दोस्रो स्थानमा रह्यो ।