एजेन्सी । विश्वकपको दोस्रो सेमिफाईनलमा भिड्न लागेका इङ्ल्याण्ड र क्रोएसियाबीचको चर्चा अघि एक पटक इतिहासतर्फ फर्कौ ।
सन् १९६६ मा इङ्ल्याण्डले विश्वकपको आयोजना गरेको थियो । फाईनलमा वेस्ट जर्मनीलाई हराउदै उसले उपाधि उचालेको थियो । इङ्ल्याण्डले विश्वकपमा उचालेको पहिलो र अन्तिम उपाधि त्यही हो ।
त्यसपछि विश्वमा आधुनिक फुटबलको विकासको लहर चल्यो । इङ्ल्याण्डको प्रिमियर लिग विश्वकै सर्वाधिक खर्चिलो र उत्कृष्ट लिग बन्यो । प्रिमियर लिग धेरै खेलाडीको सपना बन्यो । तर, इङल्याण्डले घरेलु फुटबलमा आफ्नो साम्राज्य स्थापित गरेपनि विश्व फुटबलमा विस्तारै हराउदै गयो ।
विश्वकपमा नकआउट चरण भन्दा उसको यात्रा अघि बढ्न सकेन । उसले अन्तर्राष्ट्रिय फुटबलमा एउटा अभागी टोलीको परिचय बनायो । जत्तिकै राम्रा खेलाडी भएपनि इङ्ल्याण्डले एक हिसावले अन्तराष्ट्रिय फुटबलमा कमजोर बन्यो ।
तर समय बदलिएको छ । पुस्ता बदलिएको छ । इङ्लिस टोलीमा संरचना र अनुहार परिवर्तन भएका छन् । धेरै हदसम्म भाग्यपनि दाहिना भएको छ । इङ्ल्याण्ड विश्वकप फुटबलको अर्को उपाधिबाट मात्र दुई कदम पछाडी छ । त्यसैले त अहिले इङ्ल्याण्डमा ‘फुटबल घर फर्कदैछ’ भन्ने लहरनै चलेको छ ।
सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाईनल यात्रा तय गर्न लागेको इङ्ल्याण्डकालागि क्रोयसिया बाधक बनेर बसेको छ ।
गत शनिबार इङ्ल्याण्डले स्विडेनलाई २–० ले पराजित गर्यो । खेलका दौरान ३४ सय इङ्लिस समर्थकमात्र रंगशालामा उपस्थित थिए । कारण, मस्कोमा ४८ घण्टा देखि फ्लाईट जाम भएको थियो । त्यसक्रममा १० हजार मानिस रंगशला परिसरमा थिए भने त्यो भन्दा बढी समर्थक फन पार्कमा इङ्ल्याण्डको समर्थनमा उत्रिएका थिए ।
इङ्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले टोलीले उपाधि जितेको खण्डमा फुटबल टिमको अहिलेसम्मकै भव्य स्वागत हुने बताउछन् ।
क्रोएसिया सन् १९९८ पछि पहिलो पटक सेमिफाईनल सम्म पुगेको हो । सेमिफाईनलको यात्रा तय गर्न उसले डेनमार्क र रुसविरुद्धको खेलमा टाइब्रेकरकै सहारा लिन परेको थियो ।
इङल्याण्डका जोर्डन हेन्डरशन ह्यामिस्ट्रिङ समस्याका कारण खेल्ने÷नखेल्नेमा दुविधा छ । प्रशिक्षक साउथगेटलाई आजको खेलमा जेमी भार्डी उपलब्ध हुनेछन् । कोलम्बियाविरुद्धको खेलमा चोट बोकेका उनी आजको खेलमा उत्रन सक्ने छन् ।
डिफेन्डर सिम भर्साल्जको र गोलकिपर ड्यानिजेल सुबेसिक फिट हुने क्रोएसियाको अपेक्षा छ । क्वार्टरफाईनलमा रुसविरुद्धको खेलमा उनीको चोटको समस्या देखिएको थियो ।
दुवै टोली ठुलो प्रतियोगितामा एक पटक भेटेका छन् । सन् २००४ को युरोकपमा इङ्ल्याण्ड ४–२ ले विजयी भएको थियो । दुवै टोली यसअघि ८ पटक भिडेका छन् । जसमा इङ्ल्याण्ड चार पटक र क्रोएसिया २ पटक विजयी भएको छ । एक खेल बराबरीमा सकिएको छ ।