काठमाडौं । नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बन्द प्रशिक्षण सुरु गरेको छ ।
देशाईको नेतृत्वमा नेपाली टोलीले आइतबारबाट टियु क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको हो ।
भारतीय प्रशिक्षक देशाई शनिबार नेपाल आईपुगेका थिए ।
नेपाल क्रिकेट संघ क्यानले औपचारिक रुपमा देशाई नियुक्तबारे जानकारी दिएको छैन ।
राखेपले अनुमति नदिएको कारण देशाई नियुक्तिबारे क्यानले घोषणा नगरेको हो ।
तर, नियुक्ति नभई देशाईले टिम हेर्न थालेको हो ।
नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजको लागि तयारी सुरु गरेको हो ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ । सोही सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा भईसकेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बन्द प्रशिक्षणमा रहेका नेपाली टोली
कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,आरिफ शेख,दीपेन्द्र सिहं ऐरी,सोमपाल कामी,करण केसी,गुलशन झा,शरद भेषवाकर,ललित नारायण राजवंशी,विनोद भण्डारी,सागर ढकाल,सन्दीप जोरा,किशोर महतो,कमलसिंह ऐरी,सिद्धान्त लोहनी,अर्जुन साउद,सुर्य तामाङ,अबिनाश बोहोरा,विवेक यादव,भिम सार्की,मौसम ढकाल,कुशल मल्ल,अनिल शाह,बिक्रम सोब,भुबन कार्की,अंकित सुवेदी