गोरखा। गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि पर्वतले जितेको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका बुधबार सम्पन्न फाइनल खेलमा म्याग्दीलाई ३-२ सेटले पराजित गर्दै पर्वत उपाधि जित्न सफल भएको हो।
निक्कै नै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट म्याग्दीले २५-२२ ले जितेको थियो। तर, दोस्रो सेट भने पर्वत २५-२३ ले आफ्नो बनायो। तेस्रो सेट पुनः म्याग्दीले २५-२३ ले जितेपछि खेल लम्बिन पुगेको थियो। तर, त्यसपछिका दुई सेट भने पर्वतले आफ्नो पक्षमा बनायो। चौथो सेट २५-१४ ले जित्दै पर्वत खेलमा फर्कियो।
अन्तिम तथा निर्णायक सेट पनि पर्वतले १६-१४ ले आफ्नो बनाउँदै उपाधि जित्न सफल भयो। कास्कीलाई ३-१ को सेटमा पराजित गर्दै म्याग्दी फाइनलमा पुगेको थियो। पर्वतले भने स्याङ्जालाई ३-० सोझो सेटमा पराजित गर्दै स्याङ्जासँगको भेट पक्का गरेको थियो।
यस्तै, कास्कीलाई पराजित गर्दै स्याङ्जा तेस्रो भयो। तेस्रो भएको स्याङ्जाले कास्कीलाई ३-१ को सेटमा पराजित गरेको हो। पहिलो सेट २५-११ ले जितेको स्याङ्जाले दोस्रो सेट भने २०-२५ ले कास्कीलाई सुम्पियो।
तर, त्यसपछिका दुई सेट २६-२४ र २५-१४ ले आफ्नो बनाउँदै स्याङ्जा तेस्रो हुन सफल भयो। उपाधिसँगै पर्वतले एक लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता म्याग्दीले भने ७५ हजारमा चित्त बुझायो। तेस्रो भएको स्याङ्जाले भने ५० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पर्वतकी रिमा कुँवर भइन्। यस्तै, सर्वोत्कृष्ट स्पाइकर म्याग्दीकी रञ्जना बोटे भइन्। सर्वोत्कृष्ट सेटर पर्वतकी विना पुलामी, सर्वोत्कृष्ट सर्भर स्याङ्जाकी सोइङ थापा, सर्वोत्कृष्ट बल्कर म्याग्दीकी मनीषा, सर्वोत्कृष्ट डिफेन्डर स्याङ्जाकी जायरा निशा र उत्कृष्ट प्रशिक्षक पर्वतका जगदीश सुवेदी भए। उनीहरूले समान ५ हजार प्राप्त गरे।