काठमाडौँ। उपाधि उचालिसकेको बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा कायमै राख्दै जर्मन बुन्डेसालिगामा फ्रैंकफुर्टलाई पराजित गरेको छ।
ड्यूश बैंक पार्क आइतबार राति सम्पन्न खेलमा लेभरकुजनले घरेलु टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै लेभरकुजनले आफ्नो अपराजित यात्रा ३२ मा पुर्याएको छ। लेभरकुजनले लिगमा २ खेल बाँकी रहँदा ८४ अंक जोडेको छ। पराजित फ्रैंकफुर्ट समान खेलबाट ४५ अंक जोड्दै छैटौँ स्थानमा छ।
खेलको १२औँ मिनेटमा ग्रेनाइट जाकले गोल गर्दै लेभरकुजनलाई शुरूआती अग्रता दिलाए। ३२औँ मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।
४४औँ मिनेमा प्याट्रिक शिकले गोल गर्दै लेभरकुजनलाई पुन: अग्रता दिलाए। ५९औँ मिनेटमा एक्जेक्विएल पलासियसले गोल गर्दै लेभरकुजनको अग्रता ३-१ मा पुर्याए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।
७७औँ मिनेटमा जेरेमी फ्रिमपोङले गोल गरे। ८९औँ मिनेटमा भिक्टर बोनिफेसले पेनाल्टीमै गोल गर्दै लेभरकुजनलाई ५-१ को शानदार जित दिलाए।