काठमाडौँ। जिरोनाले क्लबको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा पुगेको छ। लिगमा चार खेल बाँकी रहँदै जिरोनाले शीर्ष चारमा स्थान पक्का गरेको हो।
३४ खेल खकिँदा जिरोना ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ। ७३ अंक जोडेको बार्सिलोना तेस्रो र ६७ अंकसहित एथ्लेटिको मड्रिड चौथो स्थानमा रहेको छ।
मिगुएल एन्जेल सान्चेज मुनोजको प्रशिक्षणमा रहेको क्याटलान क्लब डिसेम्बरसम्म लिगको शीर्ष स्थानमा थियो। त्यसपछि रियल मड्रिडले शानदार पुनरागमन गरेपछि जिरोनाको स्थान लिगमा खस्कियो। यद्यपि, जिरोना शीर्ष तीनबाट तल झर्न परेको छैन।
अर्को सिजनको च्याम्पियन्स लिगमा जिरोनाको सहभागिताका लागि यूईएफएबाट स्वीकृति लिन आवश्यक पर्न सक्छ। क्लबको बहुमत सेअर इङ्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी फुटबल ग्रुपसँग छ।
२३ अगस्ट २०१७ मा अबु धाबी युनाइटेड ग्रुपको सहायक कम्पनी सिटी फुटबल ग्रुपले जिरोनाको ४४.३ प्रतिशत सेअर खरिद गरेको थियो। ला लिगामा पदोन्नति भएपछि सिटीले सन् २०२० मा यो हिस्सेदारी बढाएर ४७ प्रतिशत पुर्याएको छ। बाँकी सेअर जिरोना फुटबल ग्रुपको स्वामित्व रहेको छ।
यूईएफएसँले बहुक्लब स्वामित्व भएका टोलीहरूलाई नजिकबाट नियन्त्रण गर्दछ। साथसाथै सिस्टरहुड क्लबहरूबीच खेलाडी स्थानान्तरणको निगरानी गर्दै आएको छ।
दुवै क्लबले च्याम्पियन्स लिगमा सहभागी हुन पाइनेमा आशावादी रहेका छन्। यसअघि सन् २०१८ मा पनि आरबी लाइप्जिग र रेड बुल साल्जबर्गले एकै सिजनमा च्याम्पियन्स लिग खेलेका थिए। जिरोनाले आगामी शुक्रबार अल्भेसविरुद्ध खेल्दैछ।