लामोसाँघु। सरोज पराजुलीको दुई गोलप्रेरित न्यू सदाबाहार यूवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा पुनरागमन जित हासिल गरेको छ।
लामोसाँघुस्थित वसन्तपुर खेलमा शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा सदाबाहारले सुनौलो विहानी अभियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
समूह ‘डी’ मा रहेको सदाबाहारको जितमा जितमा सरोज पराजुलीले दुवै गोल गरे। सुनौलोका लागि ग्याल्बो लामाले गरेको गोल सान्त्वना रह्यो।
खेलको २२औँ मिनेटमा ग्याल्बोले गोल गर्दै सुनौलोका लागि शुरूआती अग्रता दिलाएका थिए।
तर, ३४औँ मिनेटमा सदाबाहारको लागि सरोजले गोल गर्दै खेलमा १-१ बराबरी ल्याए। ४३औँ मिनेटमा पुन: सरोजले गोल गर्दै सदाबाहारलाई खेलमा २-१ को अग्रता दिलाए।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन। जितसँगै समूह ‘डी’ मा न्यू सदाबाहारले ३ अंक जोडेको छ। पराजित सुनौलो अभियान भने अंकविहिन रहेको छ।