काठमाडौँ। बायर्न म्युनिखका लेफ्ट ब्याक राफेल गुरेरोले च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन्।
शनिबार स्टुटगार्टविरुद्धको खेलमा पोर्चुगलका खेलाडीको लिगामेन्टमा चोट लागेको बायर्नले आइतबार जानकारी दिएको हो।
क्लबका अनुसार उनी आगामी केही खेलका लागि मैदानबाहिर रहनेछन्। योसँगै उनले रियल मड्रिडविरुद्धको खेल पनि गुमाउने भएका हुन्।
स्टुटगार्टसँग बायर्न ३–१ गोल अन्तरले पराजित भएको थियो। उक्त खेलमा गुरेरो १७औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए। बायर्नका प्रशिक्षक थोमस टुचेलले खेलाडी बैसाखीमा रहेको बताएका छन्।
सेमिफाइनलको पहिलो लेगमा रियलसँग २–२ गोलको बराबरी खेलेको टोलीमा टुचेलले ६ परिवर्तन गरेका थिए। नोसाइर मजराउई, कोनराड लाइमर, लियोन गोरेट्ज्का, थोमस मुलर, लेरोय साने र जमाल मुसियालालाई आराम दिएका थिए।
पहिलो हाफमा स्टुटगार्टका सेरहाउ गुइरासीसँग हेड प्रहार गर्नेक्रममा घाइते भएका एरिक डायरलाई टुचेलले मध्यान्तरमा मैदानबाट बाहिर निकालेका थिए। डायरले टाउकोमा पट्टी बाँधेर खेलिरहेका थिए।
चोटका कारण पहिलो लेग खेल्न नपाएका नेदरल्यान्ड्सका डिफेन्डर म्याथिज डे लिग्ट आइतबार टोलीको प्रशिक्षणमा फर्किएका छन्।
बायर्नले बुधबार रियलको सामना गर्नेछ। दुई लेगको सेमिफाइनलको विजेताले जुन १ मा लन्डनमा हुने फाइनलमा बोरुसिया डर्टमन्ड या पेरिस सेन्ट जर्मेन (पीएसजी) मध्ये एक टोलीसँग खेल्नेछ।