गोरखा। नवौँ ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक ओसन क्लबले मंगलबार गोरखा संग्रहालयमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि शुरू हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
वैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक ओसनसहित थ्रीस्टार ललितपुर, नव जनजागृति युवा क्लब सिमरा, लक्ष्मी सामुदायिक शिक्षा सदन गोरखा, द ओल्ड क्यापिटल सेकेन्डरी स्कुल गोरखा, वालिङ युनाइटेड स्याङ्जा र समाज कल्याण खेलकुद केन्द्र काठमाडौँको सहभागिता रहने छ।
यस्तै, वाल्मीकि शिक्षा सदन चितवन, क्यासिस स्पोर्ट्स एकेडेमी चितवन, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, घोडाघोडी फुटबल एकेडेमी कैलाली, विराटनगर सिटी एफसी मोरङले पनि प्रतियोगितामा सहभागिता जनाउने छन्।
प्रतियोगितामा सहभागी हुने टोलीहरू खुला आवेदनमार्फत छनोट गरिएको आयोजकले जनाएको छ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित २० हजार प्राप्त गर्नेछ। उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित १० हजार प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।