काठमाडौं । साविक विजेता भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नपाउने भएको छ ।
विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएसँगै भारतको महिला फुटबल टोलीले महिला साफ खेल्न नपाउने भएको हो ।
नेपालको विराटनगरमा भएको अघिल्लो महिला साफको फाइनलमा नेपाललाई ३-१ ले हराएर भारतले उपाधि जितेको थियो ।
अब महिला साफमा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।
साफले यस अघि सार्वजनिक गरेको खेल समूह विभाजन अनुसार समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको थियो ।
यस्तै समूह 'बी' मा नेपाल, श्रीलंका र भुटान रहेको थियो ।