एजेन्सी । इंग्लिस क्लब एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले प्रिमियर लिगको मर्सीसाइड डर्बीमा लिभरपुललाई पराजित गर्न टिम सक्षम रहेको बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै इंग्लिस गोलकिपर पिकफोर्डले प्रिमियर लिग सुचारुपछिको मर्सीसाइड डर्बीमा क्लब जित निकाल्न सक्षम भएको बताएका हुन् ।
कोरोनाको कारण स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ । र, मर्सीसाइड डर्बी जुन २१ मा हुनेछ ।
'हामी हरेक खेल जित्न चाहन्छौं । जुनै डर्बी पनि समर्थक र खेलाडीको लागि ठुलो कुरा हुन्छ,' पिकफोर्डले भने, 'हामी यो देखाउँन चाहन्छौ कि कति राम्रो छौँ । उनीहरुलाई हराउने हामीलाई अवसर छ । हामीलाई थाहा छ उनीहरु राम्रो टिम हो । शीर्ष स्थानमा छन् । हामी हाम्रो राम्रो गर्छौं र हराउने प्रयास गर्ने छौँ ।'
यस सिजन लिभरपुल लिगको उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
उपाधिका लागि लिभरपुललाई दुई जितको आवश्यकता रहेको छ । एभर्टनसँगको खेल लिभरपुलले उपाधि उचाल्न सक्ने खेलको रुपमा लिईएको छ ।
तर, पिकफोर्डले भने डर्बीमा लिभरपुललाई हराउने आशा गरेका छन् ।
'हामीलाई थाहा छ उनीहरुलाई हराउँन सक्ने क्षमता हामीमा छ । हामी यो आफ्नै र हाम्रा समर्थकको लागि गर्न चाहन्छौं,' उनले थपे ।
यस सिजन एभर्टन लिगको १२ औं स्थानमा रहेको छ ।