काठमाडौँ। वेस्ट इन्डिजका स्पिन अलराउन्डर सुनिल नारायणले आफ्नो टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको बताएका छन्।
इन्डिन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज कोलकाता नाइट राइडर्सका लागि राम्रो प्रदर्शन गरिरहेका उनले राष्ट्रिय टोलीमा फर्किने ढोका बाटो बन्द भइसकेको बताए।
३५ वर्षीय क्यारेबियन खेलाडी हाल आईपीएल २०२४ मा सबैभन्दा मूल्यवान खेलाडी हुन्। गत हप्ता उनले राजस्थान रोयल्सविरुद्ध ५६ बलमा अविजित रहँदै १०९ रन बनाएका थिए। जुन उनको टी–२० करिअरमा पहिलो शतक पनि थियो।
उनले यस वर्ष २२.११ को औसत र ७.१० को इकोनोमीमा ९ विकेट लिएका छन्। जुन कोलकाताका लागि सर्वाधिक विकेट हो।
नारायणलाई राष्ट्रिय टोलीमा फर्काउन वेस्ट इन्डिजका टी–२० कप्तान रोभम्यान पावेलले विगत १२ महिनादेखि मनाइरहेका छन्।
नारायणले नोभेम्बर सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। सन् २०१९ देखि वेस्ट इन्डिजका लागि उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्।
कोलकाताले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उनले भनेका छन्, 'मेरो फर्मका कारण समर्थकहरू मलाई सन्यास फिर्ता लिएर विश्वकप खेलेको हेर्न चाहान्छन्। यसका लागि म खुसी र कृतज्ञ छु। तर, मैले सन्यास फिर्ता नलिने निर्णय गरेको छु। यो निर्णयको साथ र अब मेरो राष्ट्रिय टोलीमा फर्किने ढोका मेरा लागि बन्द भएको छ।'