ललितपुर । खेलकुद मन्त्री जगत विश्वकर्माले अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ कार्यसमितिले गरेको कामबाट आफु सन्तुष्ट रहेको बताएका छन् ।
एन्फाको ३ नम्बर प्रदेश स्तरीय बैठकलाई ललितपुरमा उद्घाटन गर्दै मन्त्री विश्वकर्माले निर्वाचित भएको छोटो समयमा एन्फाले गरेको कामबाट आफु सन्तुष्ट रहेको बताए ।
‘छोटो समयमा एन्फाले जसरी काम गरिरहेको छ । नयाँ कार्यसमिति र नेतृत्वको कामबाट म प्रभावित भएको छु । एन्फालाई आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न सधै तयार छु ।’ उनले भने ।
सरकारले फुटबल र खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले नेपाली फुटबलको विकासकालागि सहयोग गर्न सरकार तयार रहेको बताएका थिए ।
कार्यक्रममा एन्फा पदाधिकारीले भौतिक पुर्वाधारको अभावमा फुटबलका गतिविधि अगाडी बढाउन नसकिएको बताउदै त्यसमा ध्यान दिन सरकारसंग आग्रह गरे ।
फुटबल खेलाउन देशमा एउटा पनि गतिलो रंगशाला नभएको उल्लेख गर्दै एन्फा नेतृत्वले पुर्वाधार निर्माणमा सरकारलाई गम्भिर बन्न आग्रह गरेका थिए ।
एन्फाले तयार गरेको विधान मस्यौदा र आर्थिक नियमावलीका बिषयमा छलफल गर्न प्रदेश नम्बर तीनको प्रदेश स्तरीय बैठक ललितपुरमा सुरु भएको छ ।