राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष धुर्व आचार्यसहित १९ बोर्ड सदस्य पदमुक्त भएका छन्।
परिषद् सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार परिषद्मा नियुक्त भएका सदस्यहरू मंगलबारदेखि पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ जारी गरेसँगै विभिन्न ऐन र संरचना अनुसार राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन्।
जसमा खेलकुद परिषद्मा राजनीतिक नियुक्तिबाट आएका १९ जनाको समेत पद गएको हो।
नयाँ सरकार आएसँगै परिषद्का उपाध्यक्ष आचार्यले उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए। तत्कालीन सदस्य सचिव टंकलाल घिसिङको कार्यकाल समाप्त भएसँगै खेलकुद मन्त्रालयका सहसचिव रहेका रामचरित्र मेहताले परिषद्मा सदस्य सचिवको जिम्मेवारी पाएका लिएका छन्।

परिषद्को बोर्डमा तत्कालीन कांग्रेस र एमाले नेतृत्वको सरकारमा नियुक्ति पाएका बोर्ड सदस्यहरू रहेका थिए। नयाँ नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले अध्यादेशमार्फत सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश जारी गरेसँगै खेलकुदमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरू पदमुक्त भएका हुन्।
यसरी पदमुक्त हुनेमा नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शन्तिकुमारी चौधरी, आनन्दकुमार झा, हिमालकुमार श्रेष्ठ, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, अञ्जना श्रेष्ठ, डा मधुसुधन सुवेदी, रामचन्द्र श्रेष्ठ, रञ्जना प्रधान, विदुर ढुंगना, प्रयास कार्की, कुमार लामा घिसिङ, रोजेश खड्का, सन्तकुमार मेहता र जगतबहादुर टमटा रहेका छन्।









%20(2)-1777978001805.jpeg&w=3840&q=75)





