एजेन्सी । घरेलु मैदानमा जारी फिफा विश्वकप फुटबलमा रुसले आज क्रोएसियाको सामना गर्दैछ । आयोजक रुस र युरोपको सशक्त राष्ट्र क्रोएसियाबीचको खेल फिष्ट ओलम्पिक स्टेडियममा हुनेछ ।
मध्ये राति हुने खेलमा दुवै टोलीको लक्ष्य सेमिफाइनल पुग्नु मात्र हुनेछ । जारी विश्वकपमा रुसले आफुलाई सुधार गर्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरेको हो । यता, क्रोएसिया निरन्तर उच्च प्रदर्शन गरिरहेको छ । र, आज हुने खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
आजको खेलमा रुसले आफ्ना खेलाडी टेनिस चेरिसेभबाट उच्च प्रदर्शनको आशा राखेको छ । रुसले चेरिसेभलाई मुख्य खेलाडी बनाउने पक्का छ । यता, क्रोएसिया कप्तान लुका मोड्रिकसंग प्रेणित हुनेछ । मोड्रिककै उच्च प्रदर्शनले क्रोएसिया सफल हुँदै आएको छ ।
प्लेयर्स टु वाच -
डेनिस चेरिसेभ (रुस)
बलियो क्रोएसियाविरुद्ध रुसलाई जित निकाल्ने हो भने चेरिसेभको भूमिका महत्वपूर्ण हुनेछ । सबै क्षेत्रमा बलियो देखिएको क्रोएसियाविरुद्ध जित निकाल्न चेरिसेभको प्लेमेकर भूमिका निकै आवश्यक हुन्छ ।
स्पेनिस क्लब रियल मड्रिडबाट समेत खेलिसकेका चेरिसेभ विंगर हुन् । तर, उनले मिडफिल्डमा समेत उत्तिकै राम्रो खेल्न सक्छन् । यो बर्ष निकै लयमा रहेका कारण रुसले चेरिसेभलाई मुख्य हतियार बनाउन सक्ने छन् ।
समूह चरणमा चम्किएका चेरिसेभले मिडफिल्डर मात्र नभएर स्ट्राइकरको काम समेत गरिरहेका छन् । उनले समूह चरणको पहिलो खेलमा २ गोल गर्दा दोस्रो खेलमा १ गोल गरेका थिए । त्यसैले आजको खेलमा चेरिसेभ चम्किए क्रोएसियालाई निकै कठिन रहने छ ।
२७ बर्षीय चेरिसेभ अहिले भिल्ला रियलबाट स्पेनिस ला लिगा खेल्ने गर्छन् । उनले रुसको लागि १५ खेल खेलिसकेका छन् । यो बर्ष नै उनले रुसका लागि ३ गोल गरेका हुन् । सन् २०१२ मा रुसको टोलीमा डेब्यु गरेपनि गोल गर्न सकेका थिएनन् ।
लुका मोड्रिक (क्रोएसिया)
क्रोएसिया टिमको लय अहिले जुन अवस्थामा छ, जसको श्रेय लुका मोड्रिकलाई जान्छ । कप्तान मोड्रिककै प्ले मेकर भूमिकामा क्रोएसियाले विश्वकपमा सुन्दर फुटबल पसक्दै आएको छ । आज रुसविरुद्ध हुने खेलमा पनि कप्तान मोड्रिक नै महत्वपूर्ण खेलाडी हुनेछन् ।
३२ बर्षीय मिडफिल्डर मोड्रिक मैदानमा बल पोजिसन मिलाउन जति सफल हुन्छन्, गोल गर्न पनि उत्तीकै माहिर मानिन्छन् । स्पेनिस रियल मड्रिडबाट खेल्दै आएका मोड्रिकले समूह चरणमा अर्जेन्टिनाविरुद्ध गरेको गोल निकै सुन्दर थियो । जारी विश्वकपमा उनले २ गोल गरिसकेका छन् ।
बल पोजिसन मिलाउन र आफ्ना टिमलाई एक जुट बनाउन सक्ने खुबी भए मोड्रिक निकै चलाखीपूर्ण खेल्ने गर्छन् । क्रोएसियाको लागि १०९ खेल खेलीसकेका मोड्रिकले १४ गोल गरिसकेका छन् ।
समूह चरणमा टोलीको उत्कृष्ट नतिजामा महत्वपूर्ण खेलाडी बनेका मोड्रिक रुसविरुद्ध पनि उत्तिकै जम्ने विश्वास गरिएको छ । मोड्रिकको जादु चलेमा रुसलाई हराउन क्रोएसियालाई कुनै कठिन हुनेछैन ।