एजेन्सी । रुस विश्वकप अन्तर्गत तेस्रो क्वाटरफाइनलमा आज स्विडेन र इंग्ल्यान्ड मैदान उत्रदै छन् ।
समारा स्टेडियममा आज साँझ हुने खेलमा दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रदै छन् । आज दुवै टोली जित निकाल्दै लामो समयपछि विश्वकपको सेमिफाइनलमा पुग्न चाहन्छ । यस्तोमा दुवै टोलीले आफ्नो खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा राखेको हुन्छ ।
आजको खेलमा स्विडेन कप्तान अन्द्रेस ग्रानक्भिस्टबाट निकै आशावादी छ । यस्तै इंग्ल्यान्ड पनि कप्तान ह्यारी केनको लय कायम रहेको हेर्न चाहन्छ ।
प्लेयर्स टु वाच :
अन्द्रेस ग्रानक्भिस्ट (स्विडेन)
इंग्ल्यान्डविरुद्ध मैदान उत्रदा स्विडेनका मुख्य खेलाडी हुनेछन्, कप्तान अन्द्रेस ग्रानक्भिस्ट । आज स्विडेनले इंग्ल्यान्डका उत्कृष्ट फरवार्डविरुद्ध ३३ बर्षीय भेट्रान ग्रानक्भिस्टलाई खम्बाको रुपमा उभ्याउने छ । किनकी, ग्रानक्भिस्टसँग विश्व स्तरीय खेलाडीलाई रोक्न सक्ने क्षमता छ ।
डिफेन्समा निकै अब्बल ग्रानक्भिस्टले इन्ग्लिश फरवार्डलाई रोक्दै आफ्नो टोलीलाई अघिल्लो चरणमा पुर्राउनेमा स्विडेन आशावादी छ । स्विडेनले समूह चरणदेखी अन्तिम आठको यात्रा गर्दा ग्रानक्भिस्टले नै महत्वपूर्ण भूमिका खेलेका थिए ।
समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई हराउदा ग्रानक्भिस्टको डिफेन्स तारिफ योग्य थियो । त्यसैले स्विडेनले आज ग्रानक्भिस्टबाट पुरानै लयको आसा गरेको छ । ग्रानक्भिस्ट चम्किए इंग्ल्यान्डका खेलाडीहरुलाई गोल गर्न निकै सकस हुनेछ । किनकी स्विडेनले विश्वकप छनोटको प्ले अफमा इटालीका खेलाडीलाई रोकेको इतिहास छ ।
अग्ला कदका ग्रानक्भिस्ट रसियन लिगबाट फुटबल खेल्ने गर्छन् । एफके क्रस्नोडरका लागि खेल्ने उनले रसियन प्रिमियर लिगमा २९ खेलमा एक गोल समेत गरेका छन् । विश्वकप छनोटमा १२ खेल खेलेका उनले ३ गोल गरेका थिए ।
ह्यारी केन (इंग्ल्यान्ड)
इन्ग्लिश टोलीका कप्तान ह्यारी केन जारी विश्वकप फुटबलको सर्वाधिक गोलकर्ता हुन् । रुस विश्वकपमा गोल्डेनबुट दाबेदार केनबाट आज इंग्ल्यान्डले धेरै आशा गरेको छ । उनको प्रदर्शनमा आज इन्ग्लिश टोलीको परीक्षा हुनेछ ।
इन्ग्लिश क्लब टोटनह्यामका २४ वर्षीय स्ट्राइकर केनले विश्वकपको समूह चरण र प्रि क्वाटरफाइनल गरि ६ गोल गरिसकेका छन् । समूह चरणमा उनले पानामाविरुद्ध ह्याट्रिक गरेका थिए । यस्तै ट्युनिसियाविरुद्ध २ गोल गरेका केनले अन्तिम १६ मा कोलम्बियाविरुद्ध एक गोल थपेका थिए ।
यो सिजन उच्च लयमा रहेका केन निकै चलाख खेलाडी हुन् । टिमलाई चाहिएको बेला गोल गर्न सक्ने खुबी उनको रहेको छ । पेनाल्टी हान्नमा निकै माहिर मानिने केनलाई इंग्ल्यान्डले आज मुख्य हतियार बनाउने छन् ।
आजको खेलमा केन चम्किए इंग्ल्यान्डलाई जित निकाल्न कुनै कठिनाई हुने छैन । आज हुने स्विडेनको डिफेन्स र गोलकिपरलाई निकै बनाउने अनुमान गरिएको छ ।