एजेन्सी । रुस विश्वकप फुटबल अन्तर्गत तेस्रो क्वाटरफाइनलमा आज स्विडेन र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछ ।
समारा एरिनामा दुवै टोलीको लक्ष्य जित निकाल्दै सेमिफाइनलमा पुग्नु हुनेछ । र, साँझ हुने खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । तर, दुई टोलीबीचको खेल सुरु नहुदै मैदानबाहिर भने रोमान्चकता सुरु भईसकेको छ ।
स्विडेन र इंग्ल्यान्डबीचको खेल अघि नै फुटबल बजार तातिएको छ । स्विडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविच र इंग्ल्यान्ड लिजेण्ड डेभिड बेकह्यामले एक अर्कालाई चुनौती दिएपछि दुई टोलीको खेल अगावै फुटबल बजारमा रोमान्चकता बढेको हो ।
स्विडेनका कीर्तिमानी गोलकर्ता इब्राहिमोविचले इंग्ल्यान्डका पुर्व कप्तान बेकह्यामलाई मेन्सन गर्दै इंग्ल्यान्डले जितेमा आफुले डिनर गराउने र स्विडेनले जितेका आफुलाई इकेय (स्विडेनको फर्निचर कम्पनि) को समान किनी दिन चुनौती इस्टाग्राममा दिएका थिए ।
बेकह्यामलाई मेन्सन गर्दै इब्राहिमोविचले लेखेको छ, 'डेभिड बेकह्याम, यदी इंग्ल्यान्डले जितेमा म तिमीलाई डिनर दिनेछु, तिमी जहाँ चाहान्छौ । तर, यदी स्विडेनले जितेमा तिमीलाई मलाई मैले रोजेको कुरा किन्ने छौ । त्यो इकेयको हुनेछ ।'

इन्ग्लिश टोलीका पुर्व कप्तान बेकह्यामले पनि इब्राहिमोविचको चुनौती स्वीकार गरेका छन् । र, बेकह्यामले उनलाई स्विडेनले जितेमा इकेयको समान किनिदिने तर इंग्ल्यान्डले जितेमा वेम्बलीमा इंग्ल्यान्डको जर्सी लगाएर इंग्ल्यान्ड खेल हेर्नुपर्ने शर्त राखेका छन् ।
बेकह्यामले लेखेका छन्, 'यदी स्विडेनले जितेमा म तिमीलाई तिमीले रोजेको इकेयाको समान किन्दिनेछु । तर, इंग्ल्यान्डले जितेमा तिमीले वेम्बलीमा आएर इंग्ल्यान्डको खेल हेर्नेछौ । इंग्ल्यान्डको जर्सी लगाउने छौ अनि हाफ टाइममा माछा र चिप्सको आनन्द लिनेछौं ।'

३६ बर्षीय इब्राहिमोविच रुस विश्वकपमा स्विडेनको टोलीमा अटाएका छैनन् । इब्राहिमोविच हाल एलए ग्यालेक्सीबाट अमेरिकाको मेजर सकर लिग खेल्ने गर्छन् । बेकह्यामले पनि यसअघि एलए ग्यालेक्सीबाट खेलेका थिए । यी दुई खेलाडी पिएसजीका टिममेट खेलाडी हुन् । यी दुवै खेलाडीले म्यानचेस्टर युनाइटेड, पिएसजी र एसी मिलानबाट खेलिसकेका छन् ।